१३ बैशाख २०८१, बिहीबार

एक श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय पाकिस्तानमा

pakistan

पाकिस्तानमा एक श्रीलंकाली नागरिकलाई कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक कारखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । लाहोरस्थित प्रतिआतंकवाद अदालतले घटनामा संलग्न ८९ जनालाई दोषी ठहर गर्दै ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैद, १ जनालाई पाँच वर्ष कैद र ७२ जनालाई दुईदुई वर्षको कैद सजाय तोकेको हो ।

भित्तामा टाँसिएको धार्मिक पोस्टर च्यातेर इशनिन्दा गरेको आरोपमा दियावदनलाई उनी आफैं कार्यरत कारखानाबाट बाहिर निकाली कुटपीट गरी हत्या गरेर जलाइएको थियो । हत्या गर्नेहरुले उनकै शव अघि उभिएर सेल्फी समेत खिचेर समाजिक सञ्जालमा हालेका थिए । पाकिस्तानमा इशनिन्दाको आरोपमा अल्पसंख्यकहरुमाथि बारम्बार अत्याचार हुने गरेको छ ।

श्रीलंकाली सरकारले दियावदनको हत्यामा संलग्नलाई कारबाही गर्न पाकिस्तानलाई बारम्बार दबाब दिइरहेको बेला अदालतले यस्तो फैसला गरेको हो ।