
सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो २ बजेलाई सारिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन् ।
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेर दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ । सोमबार दिनभर छलफलमा जुटे पनि दलहरुबीच सहमति हुन सकेन ।
६ ओटा महानगरमध्ये ५ ओटामा लगभग सहमति भइसकेको नेताहरुको दाबी छ । तर, पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आफ्नो दाबी नछोडेका कारण सहमति हुन सकेको छैन ।
एकीकृत समाजवादीले तालमेल गरेर जाने निर्णय भइसकेपछि पोखरा महानगरपालिकाको प्रमुख आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ भने उता नेपाली कांग्रेसले पनि आफ्नो पार्टीले नै पाउनुपर्ने दाबी गरिरहेको छ ।