१३ बैशाख २०८१, बिहीबार

वैचारिक बहस समाप्त भएको छ : हृदयेश त्रिपाठी

Hirdayas tripathi
फाइल फोटो

जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपालको राजनीति सही मार्गतर्फ उन्मुख नभएको प्रष्ट पार्दै सरकार, न्यायपालिका र कार्यपालिका चलायमान अवस्थामा नरहेको टिप्पणी गरे ।

उनले उत्पादनकर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी विचौलियाले गरिरहेकोमा किसान दुःखी बनिरहेको चर्चा गर्दै ६५ प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष त्रिपाठीले कृषिमा भएको लगानी सम्पूर्ण किसानलाई समेट्न नसकेको भन्दै धेरै बैंक भएर पनि कृषिमाथि लगानी नगर्नु दुर्भाग्य हो भने ।

उनले किसानको समस्या समाधान गर्न नीतिगत स्पष्टता हुनुपर्ने भन्दै भ्रष्टाचारमुक्त सुशासनसहितको स्थानीय तहको निर्माण नै हाम्रो मूल उद्देश्य रहेको कुरामा जोड दिए । सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसंग उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको स्पष्ट पारे ।

कोरोनाको चुनौतीले मुलुकमा अर्थतन्त्रमा केही समस्या देखिए पनि श्रीलंकाको जस्तो नभएको भन्दै अध्यक्ष त्रिपाठीले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।