७ जेष्ठ २०७९, शनिबार

आम आद्मी सरकारले पञ्जाबका प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा

Bhagwant Mann

पञ्जाबमा आम आद्मी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आद्मीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट बिजुली निःशुल्क दिइने बताइएको छ ।

भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै ‘खुशीको खबर’ दिने बताएका थिए ।

‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो । छिट्टै, पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्वीट गरेका थिए ।

पञ्जाब विधानसभा चुनावमा प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने आम आद्मी पार्टीले गरेको प्रमुख वाचामध्ये एक थियो ।

राज्यमा अतिरिक्त बिजुली उत्पादन भए पनि लामो समय बिजुली कटौती गरिएको र धेरै मानिसहरूको बिलमा पैसा बढेर आउने गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालल बताएका थिए ।

    सम्बन्धित समाचार...