१६ चैत्र २०८०, शुक्रबार

एउटालाई तलब दिन अर्को खेलाडी बेच्नुपर्ने अवस्था

football leagues scaled

कोरोना भाइरसका कारण इङ्लिस प्रिमियर लिग फुटबललाई आर्थिक रूपले निकै कमजोर बनाएका रिपोर्टहरू सार्वजनिक भएका छन्। क्लबको आर्थिक अवस्था कमजोर भएपछि एउटा खेलाडीलाई तलब दिन क्लबको अर्को खेलाडी बेच्नुपर्ने अवस्था आउने देखिएको छ।

खेलाडी अनुबन्धनका लागि समर ट्रान्सफरको मिति नजिकिँदै जाँदा बेलायतका क्लबहरू भएका खेलाडीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेको खबर डेली मिररले प्रकाशित गरेको छ। मिररका अनुसार अब क्लबहरूलाई स्टार खेलाडीसमेत जबर्जस्ती बेचेर अर्कोलाई तलब दिनुपर्ने हुन सक्छ। सिजन नसकिने र भएका खेलाडीले क्लब छाड्न सक्ने अर्को चिन्ता पनि क्लबमाथि परेको छ।

कोरोनाका कारण क्लबहरूको टेलिभिजन राइट र प्रायोजन रकममा ७५ प्रतिशतसम्म कटौती भएका छन्। यस्तोमा अधिकांश क्लबले खेलाडीको तलब धमाधम कटौती पनि गरिरहेका छन्। युरोपेली अर्थतन्त्रको मुख्य हिस्सा रहेको फुटबल कोरोनाका कारण ठप्प बन्दा क्लबहरूको मुख्य चिन्ता आर्थिक पक्षसँग बढी छ।

प्रिमियर लिगमा मात्र नभएर युरोपका अन्य शीर्ष लिग क्लबहरू पनि आर्थिक रूपले धराशायी बन्ने देखिएका छन्। स्पेन, इटाली, फ्रान्स, जर्मनीका शीर्ष डिभिजन खेलिरहेका ठूला क्लबले समेत ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने देखिएको छ।

फुटबल ठप्प भएपछि आर्थिक स्थिति कमजोर रहेका क्लबहरू टिक्न नसक्ने अवस्थामा पुगेका छन्। विशेषगरी टेलिभिजन अधिकार, राम्रो प्रायोजक र आफ्नै स्टेडियम नभएका क्लबलाई दीर्घकालीन असर पर्ने विज्ञहरूले बताएका छन्। यही अवस्थालाई मध्यनजर गरेर कतिपय देशले क्लबलाई आर्थिक सहुलियत र ऋण प्याकेजको घोषणा गरेका छन्।

स्पेनले हालै मात्र महिला तथा पुरुष टिमलाई विभिन्न चरणमा चार मिलियन युरो ऋण सहयोगको घोषणा गरिसकेको छ। स्पेनले फुटबल क्लबहरूलाई पाँच सय मिलियन युरोसम्म किस्तामा सहुलियतसहितको ऋण पनि उपलब्ध गराउने भएको छ। स्पेनले जस्तै अन्य देशका फुटबल पदाधिकारी, लिग कमिटी, क्लब र खेलाडीहरूले आर्थिक विषयलाई लिएर छलफल प्रक्रिया अगाडि बढाएका छन्।

युरोपका महत्‍वपूर्ण लिगहरूसँगै विश्वभर फुटबल गतिविधि स्थगित हुँदा विश्व फुटबल महासंघ ९फिफा० ले कोरोनाको संक्रमण अन्त्य नभई फुटबल खेलाउन नहुने बताएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सबै देशका फुटबल संघलाई कोरोनाको संक्रमण नरोकिएसम्म फुटबल खेलाउने जोखिम नमोल्न निर्देशन दिएका छन्।

खेलभन्दा व्यक्तिको जीवन ठूलो भएकोले केही समय पर्खन फिफाको आग्रह छ। फिफाले कोरोनाको संक्रमणका कारण फुटबलको ढाँचामा नै परिवर्तन गर्ने भन्दै खेलाडीको ट्र«ान्सफर मितिसमेत परिवर्तन हुने बताएको छ। एजेन्सी