१४ बैशाख २०८१, शुक्रबार

प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भयो: प्रचण्ड

prachanda

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।

आज बिहीवार ललितपुरमा आयोजित पार्टीको ‘माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रम’ मा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । अब तत्काल भूमिगतमा जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन भनेर हामीले एमालेसँग एकता गरेका थियौँ । त्यो एकता कति बेला दुर्घटनामा पर्‍यो भने– जति बेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने

कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेको पनि अत्यधिक ठूलो सङ्ख्याले अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो र त्यसपछि षड्यन्त्र सुरु भयो ।

आजकाल तपाईँहरूले सुन्नुभएको होला, एमालेका केही नेताहरू भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि भन्छन् ।’ अध्यक्ष प्रचण्डले अझै पनि नेकपा एमालेमा रहेका धेरैजसो नेताहरू समाजवादी क्रान्तिका लागि इमानदार कम्युनिस्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरूलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्त्वले माओवादीको उपलब्धिलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाउनुभयो । उहाँले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको छ बताएका छन् ।

उनले भने प्रतिक्रियावादीहरूले देशभित्रका र देशबाहिरका सबैले माओवादीलाई क्षतविक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने षड्यन्त्र गरिरहेका छन्, त्यो षड्यन्त्रलाई परास्त गर्नु माओवादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदै छ ।

देश र जनताका निम्ति समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको सङ्घीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरू माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन् । अरू कुनै पार्टी र विचारबाट यो भएको होइन । माओवादी कमजोर हुनेबित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदोरहेछ भन्ने कुरा गएको वर्ष देखी नै हाल्यौँ । अझै पनि त्यो खतरा टरेको छैन । अहिले पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेन्डाहरूलाई, मूल्य–मान्यताहरूलाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र रोकिएको छैन ।