८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

PRO KTM 7639 1 1024x682 1

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गर्नुभएको छ ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्व प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्व अध्यक्ष स्व सुवर्ण शमशेर राणा र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरू स्व तुलसीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवा श्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सुशोभन गरियो ।

विभूषण प्राप्त गर्नेहरूको सूची करिब पाँच सयको सङ्ख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री गण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ ।