८ बैशाख २०८१, शनिबार

एकताको लागि स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा

nepali flag switzernd

कोरोना भाइरस महामारीविरुद्ध विश्व एकताको सन्देश फैलाउन स्विजरल्याण्डको हिमालमा नेपालको राष्ट्रिय झण्डा पनि चम्काइएको छ ।

स्विजरल्याण्डको जेर्मातस्थित मात्तरहर्नमा चम्किलो बत्तीहरुबीच विभिन्न देशका झण्डा चम्काउने गरिएको छ । सोही बत्तीमा नेपाली झण्डा यही अप्रिल २५ देखि चम्काउन थालिएको हो । नेपाल जस्तै पाकिस्तान, इरान लगायत देशका झण्डा पनि यहाँ चम्काइएको छ ।

यसरी गत मार्च २४ देखि विभिन्न देशका झण्डा तेजिलो बत्तीमा चम्काउने गरिएको हो । कोरोना महामारीविरुद्ध संघर्षरत मानिसहरुप्रति ऐकवद्धता दर्शाउन र महामारीमा सहायता गर्नेहरुप्रति सद्भाव व्यक्त गर्न यस्तो गरिएको बताइएको छ ।

जेर्मातको मात्तरहर्न स्विजरल्याण्डको सुन्दर हिमाली क्षेत्र हो । कोरोना विरुद्ध लड्ने शाहस पनि उक्त हिमाल जस्तै उच्च होस् भनी प्रतिकात्मक रुपमा यस्तो गरिएको हो । नेपाली झण्डा हिमालमा चम्काउँदै यहाँ नेपालको प्रशंसायुक्त जानकारी पनि राखिएको छ ।

मित्रवत मान्छेहरुसहितको देश मात्रै नभएर विश्वको सबैभन्दा अग्लो हिमाल भएको देश भएको भन्दै नेपालको प्रशंसा गरिएको छ । साथै नेपाललाई ऐकवद्धताको सन्देश पठाउन चाहेको भन्दै त्यहाँ उल्लेख गरिएको छ ।

यस हिमाली क्षेत्रमा नेपालको झण्डा मध्यरातसम्म देख्न सकिन्छ । कोरोना विरुद्ध ऐकवद्धता व्यक्त गर्न विश्वभर विभिन्न तरिका अपनाइरहँदा स्विजरल्याण्डमा विभिन्न देशको झण्डा हिमालमा चम्काउँदै सिर्जनात्मक शैली अपनाइएको हो ।