११ बैशाख २०८१, मंगलवार

गोकर्णेश्वर नगरपालिकाले भित्र्यायो नेपालमै पहिलो फोहोर व्यवस्थापनको आधुनिक प्रविधि

fohor1649814329

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।

घर घरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकल प्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख सन्तोष चालिसेले यसरी फोहोर व्यवस्थापन गर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको दाबी गर्नुभयो ।

उहाँले इन्सिनरेटर मेसिन पू्र्णरूपमा सञ्चालनमा आउने क्रममा रहेको र यस्तै, तीन वटा मेसिन नगरपालिकाका विभिन्न स्थानमा राख्न सके सिङ्गो नगरपालिकालाई फोहोर व्यवस्थापनको कुनै चुनौती नहुने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ को बस्तीरहित स्थानमा उक्त मेसिन राखिएको छ । नगरपालिकाले दुई वर्षअघि जापानबाट पाँच करोड रूपियाँको लागतमा उक्त मेसिन खरिद गरेको हो । जापानका हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापन गर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको प्रमुख चालिसेले बताउनुभयो ।

यस प्रविधिमा घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरपालिकाले प्रदान गरेको झोलामा फोहोर हाल्न लगाइन्छ। त्यस्ता फोहोरलाई नगरपालिकाको गाडीले घरघरमा पुगेर सङ्कलन गर्छ । गाडीले मेसिनसम्म पुर्याएको झोलासहितको फोहोरलाई मेसिनमा हालेर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिन्छ ।

    सम्बन्धित समाचार...