२१ बैशाख २०८२, आईतवार

खनालले ओलीलाई संकेत गर्दै भने- ‘गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पायाे’

jhalanath khanal

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले अमेरिकाकाे सेवा र साँठगाँठ गरेर देशले दु:ख पाएकाे बताउनुभएकाे छ ।

एकीकृत समाजवादी काठमााडाैं जिल्ला कमिटीले आयाेजना गरेकाे शक्ति प्रदर्शन तथा खुला सभामा सम्बाेधन गर्दै नेता खनालले प्रधानमन्त्रीले विदेशीसँग भेट गर्दा मेमाेरी राख्ने चलन भएपनि ओलीले त्यस्ताे केही नराखेर गैरजिम्मेबार काम गरेकाे आरोप लगाउनुभयाे ।

ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै गएको पनि खनालकाे आरोप छ ।

‘ओलीले अमेरिकाको सेवा गरे । विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे । त्यहाँ उनले के सम्झौता गरे कसैलाई थाहा छैन । प्रधानमन्त्रीले विदेशी प्रतिनिधि भेट्दा मेमोरी राख्ने चलन हुन्छ । त्यो पनि छैन । गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको छ।’ खनालले बताउनुभयाे ।

नेकपा हुँदा एउटा ठुलो अवसर गुमाएको पनि स्मरण खनालले बताउनुभयाे । केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेशमा ६ वटा सरकार बनाउँदा क्रान्तिको अवसर भएपनि नेकपा चुकेको उहाँको भनाइ थियो ।

‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ । तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उहाँले बताउनुभयाे ।