१५ चैत्र २०८०, बिहीबार

स्वघोषणा अनिवार्य व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई

baideshik

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो ।

तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले आगामी वैशाख १ गतेदेखि स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने विभागमा महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

यसैगरी विभागले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति (म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति) अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ ।

श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।