१३ बैशाख २०८१, बिहीबार

जिब्रो छेड्ने जात्रा : बुद्धकृष्णले नवौँ पटक जिब्रो छेड्ने

Budda krishna

आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेड्ने हुनुभएको छ ।

उहाँले यसबारे जानकारी दिँदै बोडेको वर्षौँदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताउनु भएको हो ।

उहाँले प्राचीन जात्रामा बोडेका श्रेष्ठ जातिले मात्रै जिब्रो छेड्नुपर्ने प्रचलन रहेको र जात्रालाई लोप हुनबाट जोगाउन यस वर्ष समेत आफूले नवौँ पटक जिब्रो छेड्न लागेको बताउनुभयो बताउनुभयो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर २ गते मध्यान्हमा कर्मी नाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा कर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

यसअघि आठ पटक आफ्नो जिब्रो छेडाइसक्नुभएका बुद्धकृष्णले नयाँ व्यक्ति तयार नभएपछि यस वर्ष पनि आफैले जिब्रो छेडाउन लागेको बताउनुभयो । उहाँले अर्को वर्ष भने आफूले विश्राम लिने जानकारी दिनुभयो ।“नेवारी संस्कारमा जोर पटकलाई शुभ नमानिने भएकाले यस वर्ष नवौँ पटक जिब्रो छेडाउन तयार भएको हुँ, अर्को वर्ष विश्राम लिन्छु होला”, उहाँले भन्नुभयो ।

कोरोना भाइरस सङ्क्रमणको कारण २०७६ सालमा बुद्धकृष्णले जिब्रो छेडाउन पाउनुभएन ।बुद्धकृष्णले २०६१ सालमा पहिलो पटक जिब्रो छेडाउनुभएको थियो भने त्यसपछि २०६५ सालसम्म लगातार जिब्रो छेडाउनुभयो ।

बुद्धकृष्ण २०६६ सालमा पनि जिब्रो छेडाउन तयार भई बसे पनि घरमा जुठो परेपछि जिब्रो छेडाउन पाउनुभएन ।

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेड्नुभयो उहाँको आमाको निधनपछि बोडेको जुजुभाई बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्नुभयो भने पछिल्ला ३ वर्ष पनि पुन : जिब्रो छेड्नुभएका बुद्धकृष्णले यस वर्ष नवौँ पटक जिब्रो छेड्ने हुनुभएको हो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहँदै आएको छ । बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ ।

    सम्बन्धित समाचार...