१६ चैत्र २०८०, शुक्रबार

विभाजन गराएर चरम भागबण्डामा लिप्त नेपाल !

madhav nepal
फाइल फोटो

नेकपा एमाले विभाजन गराएर नेकपा एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन बनेसँगै आफ्नो पार्टीका नेताहरुलाई मन्त्री बनाउनेदेखि भाग पाउन सक्रियताका साथ लाग्नु भएकोछ ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सम्मान चाहिएको भन्दै भागवण्डा खोजेको कटाक्ष गर्दै आउनु भएको थियो । त्यही आरोप पुष्टि गर्नेगरी हाल सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल चरम भागवण्डामा लिप्त बन्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजन अघिदेखि नै एमाले अध्यक्ष ओलीले माधव नेपाललाई पदलोलुपको आरोप लगाउँदै आउनु भएको थियो । पार्टीभित्रको चरम भागवण्डा र आफ्नाहरुलाई सेटल गराउने नाममा नेपालले खेलिरहेको भूमिकाले उहाँ ओलीको आलोचनाको सिकार भइरहनु भयो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले पहिलोपटक सत्ता हातमा लिंदा सुरुभएको आन्दोलनका क्रममै आधा प्रतिगमन सच्चियो भन्दै नेपाल सत्ताको भर्याङ चढ्न तम्तयार रहेको प्रसंग अहिले पनि सेलाएको छैन । आफ्ना भाइलाई महावाणिज्यदूत बनाउनेदेखि आफन्तहरुलाई नियुक्ति दिने कुरामा नेपालको नाम नजोडिएको क्षण नै छैन ।

पछिल्लोपटक पार्टी सरकारमा गएपछि नेपाल लगातार आफ्नाहरुलाई लाभका पद दिलाउन सक्रिय बन्नु भएको छ । स्थानीय तह निर्वाचनमा जसरी पनि तालमेल गराउने अभियानमा सफल भएका नेपाल मन्त्रीदेखि राजदूत नियुक्तिसम्ममा भागवण्डाका लागि चुहाएको र्याल छरपस्ट देखिएको छ ।

बिहीबार बिहानै गोविन्द बन्दीलाई मन्त्री पद दिलाएका नेपालले साँझसम्ममा अरु आफन्तहरुलाई पनि सरकारी नियुक्तिमार्फत् सेटल गर्नुभयो । सार्वजनिक मन्तव्यमा निष्ठाको राजनीतिको पाठ छाँट्न नछोड्ने नेपाल आफ्नो वरिपरिका सबैलाई भाग दिलाउन भने सँधैभरि कम्मर कसेरै लागिरहनु भएको छ ।

त्यसो त बर्तमान गठबन्धन सरकारले नियुक्त गरेका अधिकांश राजदूत नेताहरुका आफन्त र नातागोताका व्यक्ति नै छन् । सामान्यतया राजदूतमा नियुक्त हुने व्यक्तिमा परराष्ट्र सेवामा काम गरेको अनुभव त हुनुपर्छ नै त्यसबाहेक कुनै पार्टीको विचार बोकेको व्यक्ति हो भने पनि परराष्ट्र मामिलाको अध्यता भएको न्यूनतम अनुभव आवश्यक ठानिन्छ ।

एक त राजनीतिक स्वार्थ र विदेशी प्रभावका कारण नेपालको कुटनीतिक शैली सँधैभरि आलोचनाको तारो बन्ने गरेको छ । नेताहरुको चरम व्यक्तिवादी चरित्रले अन्तर्राष्ट्रिय मञ्चमासमेत नेपालले सँधैभरि आफ्नो एउटै अडान स्पष्टसँग राख्न सकिरहेको देखिँदैन ।

छिमेकी देशहरुसँगकै सम्बन्धसमेत सन्तुलनमा राख्न नसक्ने नेतृत्वको लाचारीपन एकातिर छँदैछ भने अर्कोतिर आफन्त र नातागोतालाई सेटल गर्ने नाममा कोरा व्यक्तिहरुलाई राजदूत बनाउँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकको छबि झन धमिलो बन्दै गएको छ । कतिपय सामान्य लाग्ने तर सँधैभरि एकद्वार पद्धत्तिबाट चल्नुपर्ने नीतिगत कुराहरुमासमेत धमिरा लाग्दै जाँदा मुलुकको शाख गिर्ने क्रम चलिरहेको छ ।

यतिबेला आफ्नो पार्टी विभाजन गरेर ओलीलाई नैतिकताको दन्त्यकथा सुनाइरहेका समाजवादीका अध्यक्ष नेपालले एमालेमै रहँदा निर्माण गरेको कदलाई समेत थप बुच्चो बनाउने गरी लेनदेनको राजनीति गर्नुभएको छ । भागवण्डामा पाएका मन्त्रालयमै उल्लेखनीय काम गर्ने अवसर सदुपयोग गर्न छोडेर के प्राप्तिको यात्रामा उहाँ होमिनु भएको हो त्यो कुराको जवाफ समयले नै दिने आश गरौँ ।