१२ बैशाख २०८१, बुधबार

चुनौतीको चाङ: तालमेलसहित चुनावमा जाने सत्ता गठबन्धनको निर्णयमा

gathabandhan

निर्वाचन नजिकिदै जाँदा सत्ता गठबन्धनको गाठो भने खुकुलो बन्दै गएको छ । निकै ढिलो गरी निर्वाचनमा तालमेलसहित जाने निर्णय भएपनि चुनौती चाङ भने दिनप्रतिदिन बढ्न थालेको छ । के–के छन् त सत्ता गठबन्धनसामु चुनौती ? तालमेल सहित स्थानीय तहको निर्वाचनमा जाने सत्ता गठबन्धनको निर्णय सत्ता घटक दलहरुका लागि फलामको च्युरा बन्दै गएको छ ।

विशेषत गठबन्धनभित्रको अन्तरदल आशंका र दलभित्रैकै आन्तरिक कलहका कारण यस्तो अवस्था आएको हो । अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार पद वाँडफाड गरेर अघि बढ्ने तयारी सहित तालमेलको निर्णय भएपनि सत्ताघटकभित्रै मेरो गोरुको बाह्रै टक्काको अवस्था देखिएको छ ।

विरगन्ज र विराटनगरमा जसपा कांग्रेस बीच पद हानाथापको अवस्था रहँदा चितवन माओवादी र कांग्रेसवीच उस्तै अवस्था छ । त्यस्तै बाँकेमा जसपा एक्लै चुनावमा जाने तयारी छ भने कांग्रेसका जिल्लास्तरका नेताहरु पनि केन्द्र निर्णयमा खुसी देखिएका छैनन् ।

चितवनको सबै स्थानमा गठबन्धनसहित निर्वाचनमा जाने भएपनि भरतपुर नगर भने कसैगरी नछाड्ने कांग्रेस नेताहरुको माग छ । त्यस्तै गत निर्वाचनमा एमालेले जितेका स्थानमा आफ्नो स्वभाविक दाबी रहने नेकपा एकीकृत समाजवादीले बताँउदै आएको छ ।

यहिबीचमा सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा माओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन । तर कांग्रेसको संस्थापन पक्षीय नेताहरु भने देउवाले यसको निकाश निकाल्ने बताँउदै आएका छन ।

तर कांग्रेसभित्रै पनि अहिलेसम्म एकमत हुन सकेको स्थिती छैन । केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने बताँउदै आएका छन । यस्तै गठबन्धनका लागि मतदाता शिक्षा पनि उत्तिकै चुनौतीको विषय बनेको छ ।

यसैपनि ठुलो संख्याको मत बदर हुने अवस्थाका बीच गठबन्धनका पाँच फरक फरक पार्टीलाई छनौट गर्ने विषय प्राविधिक दृष्टिबाट समेत कठिन छ । एउटै मतपत्रमा सात जनालाई मतदान गर्नुपर्ने अवस्थामा फरक–फरक दललाई मतदान गर्ने कुरालाई व्यवहारिक बनाउन सत्ता गठबन्धनले धेरै कसरत गर्नुपर्ने देखिन्छ ।

यहि कारण एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको फर्सी भएकोले चाँंडनै अस्तित्वविहिन हुने बताएका छन् । उनले निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने बताँउदै आएका छन ।

स्थानीय स्थिति र आवश्यकतालाई हेरेर मात्र स्थानीय तहको चुनावमा तालमेल गर्न सक्ने नेपाली कांग्रेसको स्पष्ट निर्णय छ । तर कस्तो अवस्थामा आफू अनुकूल सम्झने र कस्तो अवस्थालाई प्रतिकूल मान्ने भन्नेमा उ स्पष्ट छैन ।

केन्द्रबाट गठबन्धन पनि थोपर्ने अनि स्थानीय स्तरमा तालमेल गर्न नसकिने भन्ने दोधारे कांग्रेस रणनीतिले कांग्रेसभित्रै थप किचलो पैदा भएको छ । यसरी कांग्रेसभित्रकै नेता तथा कार्यकर्ता चुनावी तालमेलमा विभाजित हुँदा नेकपा एमालेलाई बल पुग्ने निश्चित देखिन्छ भने गठबन्धन नाममात्रको गठजोठ बन्ने खतरा देखिन थालेको छ ।