१६ चैत्र २०८०, शुक्रबार

भोट माग्न नपाउने प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचनमा

nepal elecion commison

आसन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको हो ।

आचारसंहिताको उक्त व्यवस्थाबमोजिम आसन्न निर्वाचनमा कांग्रेस सभापतिसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री एवम् सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी सभामा भाग लिन र उम्मेदवारको लागि भोट माग्न नपाउने भएका छन । तर आफैँ उम्मेदवार भएको खण्डमा त्यस्ता पदाधिकारीले आफू उम्मेदवार भएको क्षेत्रमा मात्रै प्रचार प्रसार गर्न भने पाउने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले निर्णय गरेर आचारसंहिता जारी गरेको र त्यसमा दलहरूले समेत प्रतिबद्धता जनाइसकेको बताउनुभयो । उहाँले दलहरूले प्रतिबद्धता जनाइसकेको आचारसंहिता उलंघन भए आयोगले कारबाही गर्नेे चेतावनी समेत दिनुभयो । आयोगले हिजोमात्रै निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा दललाई आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन बोलाएको थियो ।

आचारसंहितामा सत्तारुढ गठबन्धनको नेतृत्वमा रहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित गठबन्धनका घटकहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहित दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।