१५ चैत्र २०८०, बिहीबार

गठबन्धनसहित चुनावमा जाने सहमति भइसकेको छ : अध्यक्ष दाहाल

Chitwan 3

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताउनुभयो ।

दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।”

वर्षौँदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थक रूपको सुरुवात आज चितवनको भरतपुरबाट सुरु भएको उहाँको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरुवात गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपुर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताउनुभयो ।

असली भूमिहीन नछुट्न भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उहाँले चितवनबाट यसको सुरुआत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोही भूमिहीन नछुटुन् र कोही गैर भूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरुवात भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।”

सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्ग मिटर नबढाई भोग चलन गर्दै आएको जग्गा दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नरेन्द्र खड्का, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतले भूमिहीन नागरिकलाई राज्यले सम्बोधन गर्ने विश्वास दिलाउनुभयो । रासस