१३ बैशाख २०८१, बिहीबार

अहिले देशको कुनै स्थानमा लोडसेडिङको समस्या छैन, अनावश्यक राजनीति गर्ने उद्योगीविरुद्ध एक्सन लिन्छौं : कुलमान घिसिङ

kulman ghising
फाइल फोटो

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले देशको कुनै पनि स्थानमा लोडसेडिङको समस्या नभएको बताउनुभएको छ ।

उहाँले उद्योगहरूलाई समेत चाहिए जति बिजुली २४ सै घण्टा दिइएको दाबी गर्नुभएको छ । विराटनगरका उद्योगीहरुले केही दिन अघि गरेको विरोधप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ । उद्योगीहरुले अनावश्यक राजनीति गर्न थालेको उहाँको भनाइ छ ।

विराटनगरको एउटा औद्योगिक फिडर सटडाउन हुँदा केही उद्योगमा बिजुली गएको थियो । त्यो प्राविधिक समस्या भए पनि उद्योगीहरूले भने अहिले पनि लोडसेडिङ जारी छ भने कू–प्रचार गरिरहेकोमा घिसिङले आपत्ति जनाउनुभयो । भारतमा मूल्य बढ्दा प्राधिकरणले राखेको मूल्यमा बिजुली नपाएपछि जम्मा दुई रात बिजुली काटिएको उहाँले प्रष्ट पार्नुभयो । सर्वसाधारणको बिजुली काट्नुको साटो उद्योगीको काटेको उहाँले बताउनुभयो ।

कोभिड महामारीबाट अर्थतन्त्र लयमा फर्कँदै गर्दा चीनमा ऊर्जाको चरम संकट आएको उदाहरण दिदै उहाँले नोभेम्बर र डिसेम्बरमा चीनमा बिजुली नहुँदा ८० प्रतिशत उद्योग एक महिनासम्म बन्द भएको स्मरण गराउनुभयो । चीनले पनि सर्वसाधारणको बिजुली काटेर उद्योग सञ्चालनमा दिएको उहाँले बताउनुभयो । अहिले भारतमा पनि बिजुलीको समस्या देखेर उद्योगीहरू स्वयम्ले उत्पादन बन्द गरेको घिसिङको भनाइ छ । उहाँले अहिलेको समस्या विश्वव्यापी ऊर्जा संकटकोरूपमा आएको समस्या भएको दाबी गर्नुभयो । तर, यो समस्यालाई विराटनगरका उद्योगीले राजनीतिक शैलीमा प्रचार गरेको उहाँको गुनासो छ ।

प्राधिकरणले जानकारी विनै उद्योगहरुमा विद्युत बन्द गराएको उद्योगीको गुनासोका सन्दर्भमा घिसिङले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका विशिष्ट सदस्य पशुपति मुरारका लगायतका उद्योगी व्यवसायीलाई बोलाएर तत्कालीन परिस्थितिका बारेमा जानकारी दिइएको बताउनुभयो । प्राधिकरणले महँगोमा मूल्यमा बिजुली किनेर सस्तोमै दिइरहेको उहाँको भनाइ छ । तर, उद्योगीहरूले प्राधिकरणको समस्यालाई पनि लोडसेडिङ भनेर अहिलेसम्म प्रचार गरिरहेकोमा उहाँको आपत्ति छ ।

यो समस्या गत साताको शुक्रबार र शनिबार अर्थात चैत १८ र १९ गते नै समाधान भइसकेको घिसिङले जानकारी दिनुभयो । तर उद्योगीले केही दिनलाई मात्र आएको अल्पकालीन समस्यालाई लिएर अहिलेसम्म राजनीति गरेको उहाँले बताउनुभयो । अहिले प्राधिकरणले प्रतियुनिट ५.५० भारुमा बिजुली किन्न थालिसकेको जानकारी पनि उहाँले गराउनुभएको छ । भारतको बिजुली बजार पनि पुरानै लयमा आइसकेकोले सबै विषय सामान्यतर्फ गइरहेको उहाँले बताउनुभयो । तर उद्योगीहरूले लोडसेडिङ भनेर प्राधिकरणविरुद्ध राजनीति गर्न नछोडेको उहाँको भनाइ छ । उद्योगीले तत्काल राजनीति बन्द नगरे प्राधिकरण पनि एक्सनमा उत्रिने घिसिङले चेतावनी दिनुभयो ।

भोल्टेज सन्तुलन मिलाउने क्यापासिटर बैंक पनि नराख्ने उद्योगका सञ्चालक नै भोल्टेज पुगेन भनेर भनिरहेको उहाँले बताउनुभयो । एउटा उद्योगले क्यापासिटर बैंक नराख्दा त्यस क्षेत्रको पुरै बिजुलीको भोल्टेज डाउन हुने भएकोले त्यस्ता उद्योग खोजी–खोजी लाइन काट्नुपर्ने अवस्था आउने उहाँले चेतावनी दिनुभयो । उद्योगीले राजनीति नछोडे ट्रङ्क लाइन र डेडिकेटेड लाइनको बिल नतिर्ने उद्योगीको लाइन काट्न प्राधिकरण एक्सनमा उत्रने घिसिङले बताउनुभयो ।