१६ मंसिर २०७९, शुक्रबार

‘आयात होइन निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्छ सुक्खा बन्दरगाहलाई’

janardan

अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।

रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उहाँले बन्दरगाह निर्यातको केन्द्रबिन्दु बन्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरू यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा त्यसलाई घटाउँदै निर्यात गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले श्रम र प्राकृतिक स्रोतलाई पूँजीमा बदलेर आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि निजी क्षेत्र र सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

बन्दरगाह आज उद्घाटन भएसँगै सडकमार्फत सिधै समुद्रबाट काठमाडौँ जोडिएको र यसले व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको विश्वास छ । मन्त्री शर्माले लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल भएको स्पष्ट पार्नुभयो ।

समारोहमा आयात निर्यातको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले फागुन मसान्तसम्म वैदेशिक आयात रु १३ खर्ब आठ अर्बको रहेको र यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको बताउनुभयो । निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको जानकारी दिँदै उहाँले अघिल्लो वर्षको भन्दा केही सुधार भएको बताउनुभयो ।