१६ चैत्र २०८०, शुक्रबार

साझाको विद्युतीय बस चीनमा यसरी परीक्षण गरिँदै

sajha bus china

साझा यातायातले चीनबाट ल्याउन लागेको विद्युतीय बसको परीक्षण गरिएको छ ।

चीनको नाजिंग शहरमा विद्युतीय बसको उकालो तान्ने क्षमता परीक्षण ग्रेडबिलिटी टेस्ट गरिएको साझा यातायातले जानकारी दिएको छ । पहिलो चरणमा साझाले थप परीक्षणका लागि तीन वटा बस काठमाडौं ल्याउने तयारी गरेको छ ।

काठमाडौंमा पनि परीक्षण सफल भएपछि बाँकी ३७ वटा बस ल्याउने साझाको तयारी रहेको छ । ति बसहरु सीएचपीसी कम्पनीको कारखानामा तयार भइसकेको साझा यातायातले जनाएको छ ।

साझाले सीएचपीसीसँग प्रति बस डेढ करोड रुपैयाँमा किन्न लागेको हो । पहिलो चरणमा ९ मिटर लामो बस किन्ने तयारीमा रहेको साझाले त्यसपछि १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु किन्ने योजना बनाएको छ ।

२५ सिट र त्यसभन्दा बढी क्षमताका बसमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता रहेका छन् ।

२०७५ पुस ९ मा सरकारले ३ सय वटा विद्युतीय बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बस किन्ने आधारभूत मापदण्ड पनि दिएको थियो ।