१३ बैशाख २०८१, बिहीबार

‘स्टारडममा हैन पूरा फिल्ममा भरोसा छ’

anmol jharna suhana

फिल्म ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले फिल्मको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् ।

बैशाख १ गतेबाट प्रदर्शनको तयारी रहेको ‘ए मेरो हजुर ४’ फिल्ममा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छिन् । आइतबार पत्रकारसँग कुरा गर्दै झरनाले फिल्म राम्रो नहुँदासम्म कसैको पनि स्टारडमले पनि काम नगर्ने र फिल्म राम्रो हुँदा नै त्यसले दर्शकलाई हलसम्म आउन प्रेरित गर्ने बताएकी हुन् ।

‘अनमोल निश्चय नै नेपाली फिल्मको स्टार हो, यसमा शंका छैन । अनमोलले फिल्मको भ्यालु थपेको छ । तर निर्देशकको रुपमा भन्नु पर्दा फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, यही नै आफुलाई स्टार लाग्छ,’ उनले भनिन् ।’

निर्माता सुनिलकुमार थापाले पनि आफूले बनाएका दर्जन बढी सिनेमामध्ये ‘ए मेरो हजुर ४’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे । आफूले बनाएका धेरै सिनेमा हिट नै रहेका भएपनि ‘ए मेरो हजुर ४’ खास रहेको उनले बताए ।

निर्माता थापाले अगाडी भने – ‘म अहिले यत्ति चैँ घमण्डका साथ भन्न सक्छु, मैले बनाएका फिल्ममध्ये यो उत्कृष्ट छ । हलमा आएको मान्छेले यो फिल्म मन नपराउने कल्पना पनि गर्न सक्दिन ।’ उनले फिल्मसँगै अनमोलको पनि तारिफ गरे । थापाले ‘ए मेरो हजुर ४’मा अनमोलले गरेको कामले उनको अभिनयलाई लिएर हुने आलोचकको मुख बन्द गर्ने आत्मविश्वास व्यक्त गरे ।

‘अनमोलले पनि अहिलेसम्म गरेको अभिनयमध्ये यसमा गरेको काम उत्कृष्ट छ । यो फिल्मपछि तपाईंहरूले अनमोलको नयाँ स्वरुप देख्नुहुन्छ,’ उनको भनाइ थियो ।

अभिनेता अनमोल केसीले भने फिल्म ‘ए मेरो हजुर ४’मा नयाँ कथा नभए पनि भएको कथालाई राम्ररी प्याकेजिङ गरिएको बताए । ‘कथाको हिसाबले यो कुनै नयाँ फिल्म हैन तर यसमा जसरी कथालाई प्याकेजिङ गरिएको छ, त्यसले फिल्मलाई इन्टरटेनिङ बनाएको छ,’ ।

उनले थपे, ‘भोलि मैले फिल्ममा के कति काम गरेको छु भन्ने कुरा त फिल्म रिलिजपछि आउला । तर कलाकारको रुपमा चैँ थोरै अपग्रेट भएको महसुस गरेको छु ।’

फिल्ममा सुहाना थापाले अनमोल केसीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । घरेलु ब्यानरबाट लगाभग दुई फिल्म खेलेकी उनले ए मेरो हजुर ४ मा नेवारी युवतीको भूमिका निर्वाह गरेकी छिन् । ट्रेलरमा देखिएका दृश्यका आधारमा उनले नेवारलाई स्टेरियोटाइप्ड तरिकाले चित्रण गरेको टिप्पणाी खेपिरहेकी छिन् । सुहानाले ट्रेलर हेरेर त्यस्तो धारणा बने पनि फिल्म हेर्दा त्यो गुनासो नरहने जिकिर गरिन् ।

‘अब ट्रेलर हेरेर कसैलाई त्यस्तो धारणा आउन पनि सक्छ तर हामीले सकभर स्टेरियोटाइप्ड नलागोस् भनेर नै काम गरेका छौँ,’ उनले भनिन्, ‘ अझ हामीले त सेटमा नेवारी भाषाको एक्स्पर्ट राखेर नै काम गरेका हौँ । सुरुमा मेरो चरित्रले नेवारी नै धेरै बोल्ने कि भन्ने थियो । त्यो स्वभाविक हुन्न भनेर नेवारी विज्ञकै सल्लाहामा नेपाली धेरै बोलेका छौँ । उहाँका अनुसार आजभोलि कसैले पनि पुरै नेवारी बोल्दैन रे ।’

अभिनेत्री झरना थापा निर्देशित तेस्रो फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।