१५ चैत्र २०८०, बिहीबार

अपराजित लय कायम राख्दै उपाधि जित्छौँ : कप्तान सन्दीप

nepal vs png

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पपुवा न्युगिनी (पीएनजी) सँग सोमबार हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा दवाव रहित प्रदर्शन गर्ने बताउनु भएको छ ।

फाइनल खेलअघि आइतबार आयोजित ट्रफी सार्वजनिक र पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले यसअघिका खेलमा जस्तै अपराजित रहेर उपाधि जित्न तयार रहेको बताउनुभयो ।

‘हाम्रो ब्याटिङ सुध्रिएको अवस्था छ । बलिङ र फिल्डिङमा पनि राम्रो गर्नेछौँ । फाइनल भनेर हामी दवाव लिनेछैनौँ । अघिल्ला खेलमा जस्तो खेल्यौँ, फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिनेछौँ,’ सन्दीपले भन्नुभयो ।

सन्दीपले मलेसियाविरुद्धको खेलमा घाइते हुनुभएका कमलसिंह ऐरीको अभाव टोलीमा खड्कने पनि बताउनुभयो । घाँटीमुनि बायाँ भागको ‘ब्यूटी बोन’ भाँचिएका ऐरीको आइतबार नै शल्यक्रिया सफल भएको छ ।

यसैगरी नेपाली टोलीका प्रशिक्षक पुबुदु नसानायकेले युवा खेलाडीको प्रदर्शनले आफुलाई सन्तुष्टी दिएको बताउनुभयो । ‘अहिले खेलाडीको खेलबाट म प्रभावित भएको छु । विस्तारै टोलीको तालमेल मिलिरहेको छ ।

युवा खेलाडीले भरिएको अहिलेको टोली बास्तवमै उत्कृष्ट छ,’ पुबुदुले भन्नुभयो। उहाँले टोलीको लक्ष्य राम्रो खेल्दै उपाधि जित्नु रहेको पनि बताउनुभयो ।

पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई विशेष रुपमा लिएको बताउनुभयो । ‘हामीले टी–२० मा लामो समयदेखि खेलेका थिएनौँ । त्यसैले अहिले सोचेजस्तो खेल्न सकिरहेका छैनौँ । नेपाल राम्रो टोली हो । फाइनलमा हामीलाई पक्कै दवाव हुनेछ । तरपनि राम्रो खेल्ने प्रयास गर्नेछौँ,’ भालाले भन्नुभयो ।

त्रिदेशीय सिरिजअघि पीएनजीले नेपालसँग दुई खेलको एकदिवसीय सिरिजमा क्लीन स्वीप गरेको थियो । टी–२० को लिगमा भने पीएनजी नेपालसँग दुवै खेलमा पराजित भएको छ ।