७ बैशाख २०८१, शुक्रबार

रोजगारीका लागि नेपाली नर्सलाई बेलायत लाने विषयले अहिलेसम्म औपचारिकता पाएन

nepali nursing

केही समयदेखि चर्चामा भए पनि नेपाली नर्सलाई रोजगारीका लागि बेलायत लाने विषयले अहिलेसम्म औपचारिकता पाएको छैन । केही महिना अघि मात्रै नेपाली नर्सलाई बेलायतले रोजगारीका लागि लाने बताएको सरकारले अहिलेसम्म औपचारिक प्रक्रिया अगाडि बढाउन नसकेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अब एक महिनाभित्र नेपाल र बेलायत सरकारबीच नर्स लैजाने विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिनुभयो । घिमिरेका अनुसार अहिले सहमतिपत्र तयार भएको छ । केही दिनपछि उक्त पत्रमा दुवै देशले हस्ताक्षर गर्ने उहाँको भनाइ छ । त्यसपछि मात्र नेपाली नर्स रोजगारीको लागि बेलायत जाने बाटो खुल्नेछ ।

पहिले दुई हजार नर्सलाई बेलायत पठाउने तयारी भइरहको मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’मा नर्सलाई बेलायत पठाउने तयारी गरेको छ । यसमा निजी क्षेत्रको संलग्नता नरहेको घिमिरे बताउनुहुन्छ । वैदेशिक रोजगारका लागि सिधै सरकार–सरकार ९जिटुजी० संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लगिएको यो पहिलो पटक हो ।

मुख्यसचिव सोमलाल सुवेदीले नेपालबाट विदेशमा नर्स पठाउँदा विदेशी ज्ञान र सीपको विकास हुने भए पनि नेपालमा नर्सको वर्तमान अवस्था बुझेर मात्र निर्णय लिनुपर्ने बताउनुभयो । ‘विदेशमा गएर नेपाली ज्ञान प्रदर्शन गरेर रकम आर्जन हुन्छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर यसरी नर्स पठाउँदा नेपालमा नै जनशक्ति अभाव हुने अवस्था आयो भने यो राम्रो हुँदैन,’ उहाँले भन्नुभयो ।

सरकारले नेपालमा रहेका नर्सको वास्तविक तथ्याङ्क पहिचान गरेर मात्र विदेशमा नर्स पठाउने वा नपठाउने तय गर्नुपर्ने उहाँको भनाइ छ । ‘नेपालमा नर्सको सङ्ख्या कति छ रु कस्ता कस्ता नर्सले सेवा दिइराखेका छन् ? हामीले विदेश पठाउँदा कसलाई पठाउने हो ? भन्ने कुराको पहिचान गरेर मात्र नर्सलाई पठाउने कुराको निक्र्यौल गर्नुपर्छ,’ सुवेदीले भन्नु्भयो, ‘नेपालमा अध्ययन गरेर पासआउट भएका नर्स नेपालमै टिकाउने गरी सरकारले वातावरण सिर्जना गर्न आवश्यक छ । अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नर्स विदेश पलायन हुने क्रम बढ्छ । यसले नेपालमा नर्सको अभाव सिर्जना हुन्छ ।’

नेपालमा नर्सको सङ्ख्या ६७ हजार

नेपाल नर्सिङ परिषद्का अनुसार हाल नेपालमा नर्सको सङ्ख्या ६७ हजार छ । जसमध्ये लगभग २५ हजार विदेशमै छन् । नौ हजारजति सरकारी सेवामा कार्यरत छन् भने लगभग २० हजार निजी क्षेत्रमा आबद्ध छन् ।

बाँकी सबै बेरोजगारमा रहेको तथ्याङ्कले देखाएको छ । परिषद्का रजिस्ट्रार बिन्दा घिमिरे नेपालमा नर्सको उत्पादन भएअनुसार व्यववस्थापन हुन नसकेको बताउनुहुन्छ । सरकारले नर्सको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

‘नेपालमा पछिल्लो समय नर्सको सङ्ख्या बढ्दै गएको छ । सरकारले उनीहरुलाई देशमै टिकाएर राख्न विभिन्न अवसरको सिर्जना गर्नु जरुरी छ । अन्यथा नर्सहरु व्यक्तिगत रुपमा पनि बाहिरिने सम्भावना बढ्ने देखिन्छ,’ उहाँले भन्नुभयो ।

नेपालका अस्पतालमा अहिले पनि आवश्यक मात्रामा नर्स नै नरहेको घिमिरेको भनाइ छ । ‘सामान्यतया एक डाक्टरले जनरल बेडमा पाँच जनालाई मात्र हेर्नसक्छ भने आइसीयूमा एक नर्स बराबर एक बिरामी भनिन्छ । तर, अहिले नेपालमा एक नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो । सरकारले नर्सलाई देशमै टिकाइराख्नका लागि विभिन्न अवसर दिनुपर्छ ।

सरकारले बेलाबेलामा लोकसेवा आयोगमा परीक्षामार्फत नर्सलाई देशमै टिकाइराख्ने वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ छ । नर्सको पेसा संवेदनशील भएका कारण नेपालले तयार गरेको जनशक्ति लान बेलायत तयार रहेको उहाँले बताउनुभयो । यसले नेपालको ज्ञान सीप पलायन हुने सम्भावना रहेको घिमिरेको भनाइ छ ।