१३ बैशाख २०८१, बिहीबार

सामान्य बन्दै पेट्रोलियम पदार्थको माग, कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा

petrol

नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । निगमका अनुसार शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको हो ।

व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको बिक्री/वितरणमा चाप परेको थियो । शनिबार बेलुका निगमबीच सहमती बनेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका थिए । आज विहान ८ बजेदेखि सामान्य रूपमा बिक्री हुने जनाइएको थियो ।

तर, व्यवसायीहरूसँगको सहमतिपछि पनि ट्याङ्कर चालकहरूले आन्दोलन सुरू गर्दा केही समय पेट्रोल ढुवानी रोकिएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिउँसो १ बजेदेखि चालकहरूसँग सहमति भएपछि ढुवानी नियमित बनेको र उपत्यकाको कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा जानकारी दिएका छन् ।