७ बैशाख २०८१, शुक्रबार

हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ तर दिइएनः मन्त्री श्रेष्ठ

krishnakumar

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन् नेपाली कांग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ । तर बस्न दिईएन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पारे ।

शनिबार भिमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको स्थानीय तहमा समाजवादीले आफुलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गरे । ‘जनताको काम कसरी गर्ने हामी सिकाउछौँ’, उनले भने । अबको निर्वाचनपछि सरकारमा पुगेर राजा बनेकाहरु ढल्ने निश्चित रहेको उनको जिकिर छ । पार्टी नयाँ भए पनि पुराना नेता भएका कारण नअत्तालिन कार्यकर्तालाई उनको अनुरोध छ ।

मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन अनुरोध गरे । उनले अगाडी थप्दै भने, ‘जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको छ । सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेहरुलाई चिन्नुहोला ।’

आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरुको उद्दारमा उदाहणीय काम गरेको मन्त्री श्रेष्ठले जिकिर गरे । वैदेशिक रोजगारीका शिलशिलामा ठगिएकाहरुलाई न्याय दिने काम गरेको उनी बताउँछन् ।