११ जेष्ठ २०७९, बुधबार

प्राधिकरणलाई राहत: हिउँ पग्लन थालेपछि बिजुली उत्पादन बढ्यो

tamakoshi

हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोसीमा समेत जलसतह बढेको छ ।

जलसतह बढ्दा बिजुलीको उत्पादनसमेत तुलनात्मकरूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका आफ्ना विद्युत् उत्पादन गृहहरूले हिउँदको समयमा पनि बढी बिजुली उत्पादन गरेका छन् ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नदीमा जलसतह बढ्न गई प्राधिकरणका आफ्ना विद्युत् गृहका उत्पादन अपेक्षितरूपमा बढेको छ । उहाँले १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ले यतिबेला ११८ मेगावाटसम्म बिजुली नियमितरूपमा उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

यतिबेला सो आयोजनाले मात्रै ६५ मेगावाट बराबरमात्रै बिजुली उतपादन गर्दथ्यो । दिनभरि पानी थुनेर राख्दा सो आयोजनाबाट पूर्ण क्षमतामा नै बिजुली उत्पादन हुने अवस्था आएको छ ।

यस्तै ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दीले पनि ६२ मेगावाट बराबर बिजुली उतपादन गरिरहेको छ । त्यस्तै ६९ मेगावाट क्षमताको तल्लो मस्र्याङ्दीले पनि विगतका वर्षहरूको तुलनामा बढी बिजुली उत्पादन गरिरहेको छ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीले पनि नियमितरूपमा १५२ मेगावाट बराबर बिजुली उतपादन गरिरहेको छ । यस वर्ष हिमाल तथा हिमरेखामा बढी हिउँ परेको तथा गर्मी पनि छिट्टै सुरु भएकाले नदीमा जलसतह बढ्न गएको छ ।

“सामान्यता जेठको पहिलो सातामा देखिने यस्तो अवस्था अहिले चैतको तेस्रो सातामा नै देखिएको छ । यो अल्पकालीन पनि हुनसक्छ । जे भए पनि नदीमा जलसतह बढ्न जाँदा त्यसले सकारात्मक प्रभाव परेको छ”, भारप्रेषण केन्द्रका प्रमुखसमेत रहनुभएका भट्टराईले भन्नुभयो ।

यस्तै त्रिशूली नदी करिडोरमा रहेको २२ मेगावाटको चिलिमे र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ले पनि अपेक्षाभन्दा बिजुली उत्पादन गरिरहेको छ । साँझको समयमा भारतबाट बिजुली आयात गर्न कठिनाइ भएका कारणले प्राधिकरणले औद्योगिक करिडोरमा पूर्ण क्षमतामा बिजुली प्रवाह गर्न सकेको छैन ।

रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको आपूर्तिमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालको ऊर्जा क्षेत्रमा समेत परेको थियो ।

प्राधिकरणले दैनकि ९६ वटा स्लटमा प्रतियुनिट २० भारु तिर्ने गरी बोलपत्र प्रक्रियामा सहभागी हुँदासमेत बिजुली पाउन सकेको थिएन । प्राधिकरणका अनुसार हाल दैनिक माग एक हजार ५९५ मेगावाट बराबर छ । गर्मी बढ्दै जाँदा बिजुलीको मागसमेत नियमितरूपमा वृद्धि भएको छ ।

प्राधिकरणका आयोजनाबाट कूल नौ हजार ७९८ मेगावाट घण्टा, सहायक कम्पनीबाट चार हजार ९५८ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट सात हजार ४६२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै एक हजार ८४० मेगावाट घण्टा बराबरको बिजुली भने अवरोधको अवस्थामा छ । कूल माग ३१ हजार ६५१ मेगावाट घण्टा बराबर छ ।

आन्तरिकरूपमा प्रणालीमा एक हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध भए पनि प्रणालीमा ३०० देखि ३५० मेगावाट बराबरको बिजुली अपुग भइरहेको छ । प्राधिकरणले हाल नियमितरूपमा कुलेखानी जलाशयसमेत चलाइरहेको छ । सो आयोजनाबाट नियमितरूपमा तीनवटा प्लान्टबाट १०६ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाइने

बजारमा बिजुलीको मूल्यमा अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको छ । इण्डियन इनर्जी एक्सचेञ्जमा प्रतियुनिट २० भारु बराबर पुग्दासमेत सहजरूपमा बिजुली उपलब्ध हुनसकेको थिएन । अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

आयोगले शुक्रबारदेखि नै लागू हुने गरी सो व्यवस्था गरेको हो । त्यसबाट नेपाललाई पनि हल्का राहत भएको छ । “बजारमा सामान पाए न सीमा निर्धारण गरेको अर्थ रहन्छ । सामान नै नपाउने अवस्था भएपछि सीमा लगाउनु र नलगाउनुको के अर्थ रहन्छ र रु”, प्रवक्ता भट्टराईले भन्नुभयो । भारतको नियमन आयोगले बजारमा हस्तक्षेप गरेर सीमाभन्दा माथि गएर बिजुली बिक्री नगर्नसमेत भनेको छ ।