११ बैशाख २०८१, मंगलवार

अपराजित रहँदै नेपाल फाइनलमा: पीएनजीसँग उपाधि भिडन्त

Nepal vs malaysia

नेपाल अपराजित रहँदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले हरायो ।

उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी ९पीएनजी०सँग प्रतिस्पर्धा गर्नेछ । मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसियालाई पछि पारेको हो । अपराजित नेपालले चार खेलबाट आठ अंक बनाएको छ भने पीएनजी र मलेसियाले दुई दुई अंक बनाएको छ ।

दुई सय २४ रनको विशाल विजय लक्ष्य पछ्याएको मलेसिया १९।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो । मलेसियाका लागि ओपनर भिरेनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । कप्तान अहमद फैजले ३३, अईनुल हाफिजले १८ र सयद अजिजले १७ रन बनाएका छन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो । नोपलका मध्यक्रममा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोलीले जितको आधार तय गरेको थियो । ऐरीले अविजित ११० रन बनाउनुभयो । उनले ५७ बलमा १० चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० मा शतक प्रहार गरेका थिए ।

नेपालका रोहित पौडेलले पनि ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ३४ बलको सामना गरेका पौडेलले पाँच चौका हानेका थिए । ओपनरद्वय आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट धए । आदील अन्सारीले १४ रन बनाए । बलिङमा मलेसियाका लागि मुहमद वाफिक, पवनदीप सिंह, मुहमद अमिर र साजरुल इद्रुसले एक एक विकेट लिए । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले मलेसियासँग प्रतिष्ठाको लडाई लडको थियो । अब फाइनल खेल सोमबार हुनेछ ।