१५ चैत्र २०८०, बिहीबार

सीमा समस्या समाधान गर्न मोदीलाई देउवाको अनुरोध

deuba modhi

भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ । नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दुई देशबीच रहेका सीमा विवादको विषय स्थापित संयन्त्रबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन । त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ ।

यसैबीच नेपाल र भारतबीच चार वटा सम्झौता भएका छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि भएको दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलमा चार वटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएका हुन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालका चार वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । दुई प्रधानमन्त्रीले हैदरबाद हाउसबाट भर्चुअल रूपमा परियोजनाको उद्घाटन गर्नुभएको हो । उहाँहरूले जनकपुर–जयनगरको ३५ किलोमिटर रेल सेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका एक सय ३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन सेवा उद्घाटन गर्नुभएको हो ।

पाँचौँ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो ।

यसअघिको आफ्नो चार वटा कार्यकालमा पनि देउवाले प्रधानमन्त्रीका रूपमा हरेक पटक दिल्लीको भ्रमण गर्नुभएको थियो । यस पटक एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेपछि नेपालमा बढेको भूराजनीतिक चासोका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमण बढी अर्थपूर्ण रहेको छ ।