१६ चैत्र २०८०, शुक्रबार

संयुक्त रुपमा प्रधानमन्त्री देउवा र मोदीद्वारा रेल सेवा उद्घाटन

railway

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर कुर्था रेल उद्घाटन गर्नुभएको छ ।
शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि आइतबारबाट रेल नियमित चल्ने भएको छ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेलसेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । यो रेलसेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु भएको छ ।

शनिबार रेल उद्घाटनपछि रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जानेछन् । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उहाँ कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनुहुनेछ भने रेल पुनः जयनगर जाने छ ।

आइतबारदेखि दिनको दुई पटक आउने र दुई पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८:३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०:३० र ५:१५ मा अर्को रेल छुट्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने छ । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिनेछ ।

भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई ९जिटुजी० रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपियाँ भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात् ४५० रुपियाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ ।