१४ बैशाख २०८१, शुक्रबार

धवलशमशेरले ओलीसँगको भेटपछि भने-अब पाँच दललाई चुनौती त दिनुपर्‍यो

uml rpp1648785339

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धनका विषयमा छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच नेपालगञ्जमा भेटवार्ता भएको छ । बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण मानिएको छ । महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुनुहुन्छ ।

भेटवार्तापछि डा.राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’

भेटवार्ता सकारात्मक भएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।