६ बैशाख २०८१, बिहीबार

लोसपा तयार संघीय सरकारमा सहभागी हुन

losapa 1

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।

जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

सरकारमा सहभागी हुन र चुनावी तालमेलका लागि गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी गराउँदै ठाकुर र महतोले आफूहरूको माग सम्बोधन भए सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन सक्ने बताए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र ठाकुर, महतोबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलका क्रममा ठाकुर र महतोले नागरिकता समस्या समाधान गर्नुपर्ने, झुठा मुद्दा फिर्ता भए सरकारमा सहभागी हुन सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

लोसपा कार्यकारिणी बैठकमा स्थानीय तह निर्वाचन, पार्टीको विधान अधिवेशन, गठबन्धनका सर्त तथा सरकारमा सहभागिताजस्ता विषयमा छलफल भएको छ । लोसपा मधेस प्रदेश अध्यक्ष तथा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले देउवा सरकारमा सहभागी बारे छलफल भएको बताए । ‘हामीले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार तयार भए संघीय सरकारमा सहभागिताका साथै चुनावी गठबन्धनमा समेत सहभागी हुन सक्छौं,’ सोनलले भने ।

यसबीच १८ चैतमा भारत भ्रमणमा गइरहेका प्रधानमन्त्री देउवा २० चैतमा स्वदेश फर्किएपछि थप छलफल अगाडि बढ्ने बताइएको छ । राजधानी दैनिकमा खबर छ ।