१५ चैत्र २०८०, बिहीबार

सफाइ जारी मेलम्ची सुरुङ: मुहानको काम ९५ प्रतिशत सकियो

Melamchi dam

मेलम्चीको पानी चैत अन्तिम सातासम्म अस्थायी रुपमा उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार चैत अन्तिम साता मेलम्चीको पानी उपत्यका ल्याउने गरी मेलम्ची मुहानमा तीव्र गतिमा काम भइरहेको छ । समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य जारी रहेको छ ।

‘मेलम्चीको पानी चैतको अन्तिम साता काठमाडौंमा ल्याउने सरकारको तयारी बमोजिम अहिले काम जारी छ । सुरुङमार्गमा पसेको पानी निकालेर भित्र सफाई गर्ने कार्य जारी छ,’ पन्तले भन्नुभयो । मुहानमा ९५ प्रतिशत सफाइको काम सकिएको उहाँको भनाइ छ । ड्यामसाइडमा रहेका ढुङ्गा पनि हटाइसकिएको छ ।

यस्तै सिनियर डिभिजन इन्जिनियर पदम कुँवरका अनुसार मेलम्चीमा असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको हो । सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने उहाँको भनाइ छ । लेदो भरिएका कारण १७ नम्बरको ढोका खोल्न समस्या भएको उहाँको भनाइ छ । ‘सुरुङ्भित्रको लेदोलाई बाहिर निकाल्नको लागि १७ नम्बरको ढोका खोल्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘तर, उक्त ढोकाको भित्र लेदो भरिएका कारण खुलाउन समस्या भएको छ ।’

१७ नम्बरको ढोका खोलिसकेपछि सुरुङ्मार्ग सफाइको काम हुने कुँवरले बताउनुभयो । मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ ।बुधबार ९ नम्बरको गेट खोलिएको छ ।

गेटभित्र पानी पसेको नौ महिनापछि गेट खोल्न लागिएकाले गेटका ढोका जाम भएका छन् । ‘बाढी पसेका कारण गेटमा खिया लागेर जाम भएको छ । गेट खोलेर भित्रको अवस्था हेर्न नै समय लागेको छ,’ उहाँले भन्नुभयो, ‘अरु काम सकिएकाले मेकानिकल काम मात्र बाँकी छ ।’