६ बैशाख २०८१, बिहीबार

पुरानै जनप्रतिनिधिको दावेदारी महोतरीको स्थानीय तहहरूमा

election

महोत्तरीका स्थानीय तहमा बहालवाला जनप्रतिनिधिहरूलेनै फेरि पनि उम्मेदवारीका लागि आकांक्षा देखाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बहालवाला जनप्रतिनिधिहरूले स्थानीय तहमा टिकटको लागि पुनः दौडधुप सुरु गरेका छन् ।

दलहरूले पनि बहालवाला जनप्रतिनिधिहरूलाई नै प्राथमिकता दिने बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले त पुराना जनप्रतिनिधिलाई नै दोर्होयाउने घोषणा गरिसकेको छ । ‘उनीहरूको जनस्तरमा रहेको लोकप्रियतालाई आंकलन गरेर लोसपाले टिकटको तय गर्नेछ ।’ लोसपा महोत्तरीका अध्यक्ष रामबाबु यादवले भने ।

यसैगरी जनप्रतिनिधिहरू पनि पार्टीले टिकट दिए पछाडि नहट्ने बताउँछन् । ‘हामी जनप्रतिनिधि त बन्यौ तर कोभिड माहामारीको कारणले अपेक्षित काम गर्न सकिएन ।’ सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक वताउँछन् ।

महोत्तरीका १५ पालिकाबाट प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरी सात सय २० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । अघिल्लो निर्वाचनमा पनि पाँच गाउँपालिका र १० नगरपालिकामा गरी सात सय २० निर्वाचित भएका थिए ।

अहिले तिनैमध्येका अधिकांशले जनप्रतिनिधिमा दोहोरिन आकाङ्क्षा देखाएका हुन् । सरकार सञ्चालनलगायत सिकाइमा अनुभवी भइसकेकाले अब समृद्धिको आधार तयार गर्न आफुहरू निर्णयक हुने उनीहरूको दावी छ ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव टिकटको बिषयमा निर्णय गर्न केन्द्रको निर्णय पर्खेको वताउँछन् । यद्यपि, लोकप्रियताका अधारमै टिकट वितरण गर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रले भने वहालवाला जनप्रतिनिधिहरू अकाङ्क्षी नै भए पनि सबै बिषयमा सर्वेक्षण गरेर मात्र निर्णय लिने बताउँदै आएको छ । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले अहिलेसम्म टिकटको बिषयमा खासै मापदण्ड बनाइ नसकेको बताए ।

नेकपा एमालेले जिल्लामा जनप्रतिनिधिहरूलाई टिकटको लोभ देखाएर पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएको आरोप छ । दुई दिन अगाडिमात्र सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारूख नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् । माओवादी केन्द्रवाट पुनः टिकट पाउने अवस्था नदेखिएपछि एमाले प्रवेश गरेको नेताहरू बताउँछन् ।

जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन् । रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डल, लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत एमाले प्रवेश गरेका छन् ।