१२ बैशाख २०८१, बुधबार

राष्ट्रवादी र राष्ट्रघातीहरुको बीच चुनावको नाममा ध्रुविकरण भइरहेको छ: विप्लव

biplav 69
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बिचमा ध्रुविकरण भइरहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले आफूहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए ।

उनले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउँदै पक्षधरहरुलाई दलाल पूँजिपति वर्गको संज्ञा दिदैँ उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रविकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । नेपाल ध्रुविकरण हुँदैछ ।

देशभक्त र देशघातीहरुको बिचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बिचमा । दलाल र स्वाभिमानी नागरिकको बिचमा एउटा ध्रुविकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तीव्रता दिनुपर्छ । हामीले गाउँ–गाउँसम्म पु¥याउनुपर्छ । र हाम्रो पार्टीको सोचाइ छ की यो लडाइँमा पनि हामीले प्रगतिशिल शक्तिहरुलाई, देशभक्त शक्तिहरुलाई, क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजिपति वर्गको विरुद्धको लडाइँमा गाउँसम्म पु¥याउनुपर्छ र हामीले भनेका छौँ एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।

भोलि बिहानैबाट ढुंगा, मुढा, लाठा, बन्दुक, गोली यो होइन । तर यो निश्चित हो कि जनतालाई हामीले अपिल गर्नुपर्छ । जसले संसदबाट हाम्रो देशको विरुद्ध अपराध गरेका छन् । जसले यो देशलाई विभिन्न तरीकाले मालिकहरुसँग मिलेमतो गरेर लिलाम गर्न खोजेका छन् । त्यो राष्ट्रघाती प्रवृत्ति, त्यो देशघाती प्रवृत्तिको विरुद्धमा क्रान्तिकारीहरुको नयाँ नयाँ मोर्चाद्वारा एकतावद्ध गर्ने, जनतालाई ध्रुविकृत गर्ने, आफ्नो देश र आफ्नो अधिकारको पक्षमा गोलवन्द गर्ने प्रक्रियालाई अगाडी बढाउनुपर्छ ।’

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । कसैको आत्मसर्मपणले नेपालमा एमसीसी लागू हुन नसक्ने उनले दाबी गरे । महासचिव चन्दले एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताए ।

उनले भने, ‘एमसीसीलाई कुनै कानूनी मान्यताले लागू गर्न सकिदैनँ । कुनै संसदको स्वीकृतिले एमसीसीलाई लागू गर्न सकिदैनँ । कुनै दलालहरुको आत्मसर्मपण र लाहा छापले नेपालमा एमसीसी लागू हुन सक्दैन । एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्छ । कुनै पनि मूल्यमा त्यसलाई रोक्नुपर्छ र नेपालबाट साम्राज्यवादको अतिक्रमणलाई रोक्नुपर्छ ।’

उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरु पूरा गर्ने जिम्मा कम्युनिस्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाइ छ । एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने उनको दाबी छ ।