२६ बैशाख २०८१, बुधबार

साढे तीन वर्ष जेल सजाय, घरमै आएका पाहुनासँग सहमतिमा यौन सम्बन्धपछि बलात्कार आरोप लगाउनेलाई

law

घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ । अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।

किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार आरोपसहित गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् । यसअघि ती पुरुष माघ १५ गते बिहेका लागि माग्न आएका थिए । त्यसपछि त्यहीँ बसेका थिए । त्यस क्रममा किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको पुरुषले बताएका छन् । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित जबर्जस्ती करणीमा जाहेरी दिएकी थिइन् ।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी उनले गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताए पनि बिहे नगर्ने त्रासले त्यस्तो आरोप लगाएको उल्लेख गरेकी थिइन् ।

अर्कातिर ती पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए । दुवै पक्षको बयान र आवश्यक तथ्य प्रमाणका आधारमा अदालतले यो मुद्दामा किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।