गठबन्धन गर्ने काँग्रेसको निर्णयपछि एमाले तरंगित, देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

फाइल फोटो
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्नुहुने भएको छ ।
अध्यक्ष ओलीले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्न लाग्नुभएको हो । कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लाग्नुभएको हो ।
उहाँले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न निर्देशन दिनुहुने बताइएको छ ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गर्नुभएको थियो ।
एमाले लक्षित गठबन्धनप्रति आक्रोशित ओलीले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’को गठबन्धन भन्दै आउनुभएको छ ।