१६ चैत्र २०८०, शुक्रबार

दबाबकै बीच तालमेलमा गयो काँग्रेस: ओली संकटमा परे, चार दलविरुद्ध एमाले एक्लै

gathbandan vs uml

चुनावमा धेरैभन्दा धेरै सिट जित्न गठबन्धन गर्नैपर्ने निष्कर्ष निकाल्दै नेपाली काँग्रेसले चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

शेखर कोइराला पक्षको दबाबकै बीच सभापति देउवाका अडान बमोजिम तालमेलको निर्णयमा काँग्रेस पुगेको हो । तर यसले नेकपा एमालेलाई थप दबाबमा पारेको छ ।

चार दलीय गठबन्धन चुनावी तालमेलसहित निर्वाचनमा गए पराजयको स्वाद चाखिने भय एमालेमा देखिएकै बेला आन्तरिक किचलो व्यवस्थापनसहित सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहना बमोजिम नेपाली काँग्रेसले चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा शेखर कोइराला समूहले गठबन्धन गर्न नहुने अडान लिएपछि नेपाली काँग्रेसभित्र किचलो मच्चिएको थियो । तर ‘चुनावी गठबन्धन’को सट्टा स्थानीय आवश्यकताअनुसार ‘चुनावी तालमेल’ भन्ने शब्द राखेर मध्यमार्गी बाटोबाट काँग्रेसले निर्णय गरेको हो ।

बैठकले देशभर काँग्रेसको पक्षमा जनलहर रहेको र आसन्न निर्वाचनमा बहुमत सीट जित्ने निष्कर्ष निकालेको छ । तर, थप सीट सुरक्षित गर्न र जितलाई सुनिश्चित गर्न केही शक्तिहरुलाई साथमै लिएर हिँड्नुपर्ने अवस्था देखिएपछि माओवादी, एकीकृत समाजवादी र जसपासहितका दलसँग तालमेल गर्ने निर्णय गरेको हो ।

अब स्थानीय तह परिस्थति र आवश्यकता अनुसार गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल हुनेछ । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा केन्द्र, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाइने भएको छ । यसबाट काँग्रेसकै निर्णय पर्खिएर बसेका माओवादी र एकीकृत समाजवादी लगायतका दलले राहत महसुस गरिरहेका छन् ।

गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेलभन्दा जित्न सक्ने आधार भएका बेला सिंगो पार्टी एक ढीक्का भएर एक्लै चुनावमा जानुपर्ने शेखर कोइराला पक्षको मत थियो । तर गठबन्धन गर्नेपर्ने दृढ अडानका बीच देउवाका अघि इतर पक्षको जोर चल्न सकेन ।

यसअघि देउवा एकलौटी चले समानान्तर अभ्यास थाल्ने चेतावनी दिएको शेखर पक्षले अब ४० प्रतिशतको हक दाबी गरेको छ । टिकट बाड्नका लागि बनाइने संसदीय समितिमा समेत शेखर कोइरालासहितका नेताहरुलाई समेट्नुपर्ने दबाब दिइरहेको छ ।

यद्यपी काँग्रेस चुनावी तालमेलसहित जाने भएपछि चार दलसँग एक्लै चुनावमा जान बाध्य नेकपा एमाले आफु अनुकुलका दलसँग तालमेल वा एक्लै चुनावमा जाने थप दबाबमा परेको छ ।