१२ जेष्ठ २०७९, बिहीबार

वायुप्रदूषणको चपेटामा काठमाडौं, पानी नपरेसम्म तुवाँलो नहट्ने

kathmandu polutaion

विश्वकै प्रदूषित सहरमा काठमाडौं छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ। विश्वकै प्रदूषित देशको सूचीमा नेपाल १० औँ स्थानमा छ। काठमाडौं उपत्यका धेरै प्रदूषित रहेको देखिएको छ।

काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। हिजो दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो। सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।

एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। काठमाडौंको आकाश मंगलबार पनि धुम्मिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ। जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। पानी नपरे यो अवस्था अझै बढ्नसक्छ’, उहाँले भन्नुभयो। आज सामान्यतया सबै ठाउँको मौसम यस्तै रहने उहाँको भनाइ छ। पहाडी क्षेत्रका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ।

विगतको अनुभव
गत वर्ष पनि नेपालमा वायु प्रदूषणको मात्रा बढी भएका कारण विद्यालय बन्द नै गर्नुपरेको थियो। उपत्यकामा यसरी प्रदूषण बढ्नुको मुख्य कारण पुराना सवारी साधनलाई मानिएको छ।
काठमाडौं उपत्यका कचौरा आकारको भएकाले पनि यहाँ पानी नपरिकन वातावरण सफा हुँदैन। पानी नपर्दासम्म मौसम खुल्न नसक्ने मौसमविद्को भनाइ छ।

यातायातको चापले प्रदूषण
उपत्यकामा यातायातका साधन गुड्न थालेको लामो इतिहास छैन। वि. सं. २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि मात्र उपत्यकामा सवारी साधन भित्रिएका हुन्। त्यो भन्दा अगाडि मान्छेले बोकेर ल्याएका मोटर फाट्टफुट्ट गुड्थे। त्यसको ६५ वर्षपछि अहिले यातायातका साधनको चाप बढेको छ। हाल उपत्यकामा बढिरहेको वायु प्रदूषणको मुख्य कारण यातायातका साधनबाट निस्कने धुवाँ भएको विज्ञले बताउनुभएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा उपत्यकामा बढेको वायु प्रदूषणको स्रोत यातायातका साधन भएको उल्लेख गरिएको छ। परिषद्ले सन् २००६ र २०१४ मा गरेको अध्ययन अनुसार वायु प्रदूषणको मुख्य स्रोत यातायात भएको अध्ययनमा संलग्न डा. मेघनाथ धिमालले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय घरभित्रबाट निस्कने धुवाँ भने घट्दै गइरहेको छ।

‘यातायातसँगै इँटा उद्योग, कल–कारखाना पनि यसको स्रोत हुन् तर पनि पछिल्लो समय उपत्यकाको हकमा यातायात नै प्रदूषणको प्रमुख स्रोत हो,’ डा. धिमाल भन्नुहुन्छ।

नेपालमा वार्षिक रुपमा मृत्यु भएकामध्ये २२ प्रतिशतको मृत्यु वायु प्रदूषणका कारण हुने उहाँको भनाइ छ। प्रत्येक वर्ष मंसिर महिनादेखि नै वायु प्रदुषण बढ्दै जाने र यो जेठसम्म नै कायम रहने धिमालको भनाइ छ। उहाँका अनुसार बिहान र साँझको समयमा उपत्यकाको प्रदूषण झन बढ्ने गरेको छ। काठमाडौँ उपत्यकामा फोहोर थुप्रिरहेको र उक्त फोहोरलाई चलाउदा पनि धुलोका कण वायुमण्डलमा आउदा प्रदूषणको मात्रा बढी देखिएको उहाँको भनाइ छ।

सवारी साधनबाट हुने प्रदूषणले श्वासप्रश्वासदेखि क्यान्सरसम्मका विभिन्न रोगहरू निम्त्याइरहेको छ। पछिल्लो समय गरिएका विभिन्न अध्ययन अनुसार वायु प्रदूषणले मस्तिष्कघात र हृदयघातसमेत हुने गरेको पाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष ३७ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि यसका कारण बर्सेनी ३७ हजारको ज्यान जाने गरेको विभिन्न तथ्यांकले देखाएका छन्।

त्यस्तै; विभागका प्रवक्ता शंकर पौडेल विभागले वायु प्रदूषणबारे अध्ययन गरेर ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ मस्यौदा तयार गरिसकेको बताउनुभयो। उहाँका अनुसार विभागले बनाएको मस्यौदा २०७६ फागुन १२ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ।

उक्त मस्यौदामा वायु प्रदूषण कम गर्न सकिने उपाय उल्लेख गरिएको बताउँदै पौडेलले सवारी साधनबाट निस्कने प्रदूषण कम गर्न विद्युतीय सवारी साधन बढाउनुपर्ने कुरामा जोड दिनुभयो। ‘पछिल्लो समय उपत्यकामा वायु प्रदूषणको मात्रा कम गर्नको लागि विद्युतीय सवारी साधनमा जोड दिइएको छ, यसले उपत्यका र समग्र नेपालको वायु प्रदूषणमा नै कमी आउने छ,’उहाँले भन्नुभयो।

सवारी परीक्षण संख्या पनि न्यून
सवारी परीक्षण कार्यालय टेकुका अनुसार दैनिक ४०/५० को संख्यामा सवारी साधन परीक्षणका लागि आउने गरेका छन्। कार्यालयका अनुसार यो संख्या आउनुपर्ने भन्दा कम हो। टेकुस्थित कार्यालयका प्रमुख मणिराम भुसाल तुलनात्मक रूपमा सार्वजनिक यातायातभन्दा निजी सवारी साधन बढी मात्रामा परीक्षणका लागि आउने गरेको बताउनुहुन्छ। अहिले उपत्यकाका सात स्थानमा वायु प्रदूषण मापन केन्द्र राखिएका छन्। यसले कुन ठाउँमा कति प्रदूषण भयो भन्ने जानकारी राख्दछ। तर, अधकांश सवारीहरु परीक्षणबिनै गुडिरहेका छन्।

छैन अनुगमन
सार्वजनिक यातायातका साधनको हकमा सञ्चालनमा आएको २० वर्षपछि गाडी चलाउन मिल्दैन भने ६/६ महिनामा अनिवार्य रूपमा परीक्षण गर्नुपर्छ। निजी सवारी साधनको भने आयु नतोके पनि वर्षमा एक पटक अनिवार्य रूपमा परीक्षण गराउनुपर्छ।

सार्वजनिक यातायातका साधन प्रयोगमा आएको २० वर्षपछि चलेका छन् वा छैनन् भन्नेबारे प्रभावकारी अनुगमन हुने गरेको छैन। वातावरणविद् भूषण तुलाधर सरकारले बनाएको ऐन कार्यान्वयन मात्र गर्ने हो भने पनि प्रदूषणमा कमी आउनसक्ने बताउनुहुन्छ। तर, यस विषयमा सरकारी कार्यालयले एकअर्कालाई जिम्मेवार ठहर्‍याउँदै दोष मात्र दिने गरेका छन्। मन्त्रिपरिषद्बाट स्वीकृत भएको मस्यौदाको सरकारले पूर्ण रुपमा पालना गरे पनि प्रदुषणको मात्रा घट्न सक्थ्यो,उहाँको भनाइ छ।

मापनमै कमजोरी
उपत्यकामा वायु प्रदूषणको मात्रा मापन गर्नको लागि राखिएका यन्त्रको स्थान वैज्ञानिक आधारमा सही नरेको वातावरणविद् युवराज पन्त बताउनुहुन्छ। उपत्यकामा राखिएका यन्त्र बढी भीडभाड हुने र धेरै सवारी रोकिने ठाउँमा राखिएकाले यसले दिने सूचना वैज्ञानिक हिसाबले सही नहुने उहाँको तर्क छ।