
नेपाली काँग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस धेरै स्थानमा विजयी हुने परिस्थिति र आधार बनेको निष्कर्ष निकाल्दै बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी बैठकले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र पार्टी प्रवक्ता डा. प्रकाश शरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको पनि केन्द्रीय सदस्य भट्टराईले बताउनुभयो ।
संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली काँग्रेसको भूमिका निकै सफल रहेको निष्कर्षसहित बैठकले देश विकास र समृद्धिको यात्रामा पार्टीको जिम्मेवार शैली प्रभावकारी रहको ठहर गरेको छ ।
पार्टी नेतृत्वको सरकारले कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको पनि बैठकको निष्कर्ष रहेको नेपाली काँग्रेसले जनाएको छ ।
यसअघि केन्द्रीय समितिको बैठकमा गठबन्धनका सम्बन्धमा केही पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले गठबन्धन हुनैपर्ने र केहीले स्थानीय आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन गरिनुपर्ने धारणा राख्दै आउनुभएको थियो ।