१४ बैशाख २०८१, शुक्रबार

माहोल मोडियो चुनावी गठबन्धनको पक्षमा, मापदण्ड बनाउनुपर्नेमा जोड

congress

संस्थापनइतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहको अडानविपरीत नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्नुपर्ने पक्षमा माहोल देखिन थालेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको दोस्रो बैठकमा एकमहिने अभियानको लागि केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधिसहित बोल्ने बहुमत सदस्यहरूले निश्चित मापदण्ड बनाएर सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जानुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा सुरुदेखि नै गठबन्धनको पक्षमा रहनुभएको छ । इतर समूहका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत नेताहरू भने सुरुदेखि नै चुनावी तालमेलको विपक्षमा रहनुभएको थियो ।

शुक्रबारको बैठकमा धारणा राखेका प्रदेश सभापति र केन्द्रीय प्रतिनिधिहरूको बहुमत संख्याले गठबन्धनको विपक्षमा धारणा राखे पनि आइतबारको बैठकको माहोल भने परिवर्तन देखिएको छ । आइतबारको बैठकमा बोल्ने अधिकांश वक्ताहरूले गठबन्धन गर्नुपर्ने तर त्यसको निश्चित मापदण्ड र अधिकारका विषयमा छलफल गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

पाँच दलीय गठबन्धनलाई बचाएर लैजानुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धनलाई बचाएर चुनावसम्मै लैजानुपर्ने बताउनुभएको छ । केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै पाँच दलीय गठबन्धनका नेता सम्मलित उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहनुभएका पौडेलले गठबन्धनलाई चुनावसम्मै लैजाने गरी केन्द्रीय समितिले नीतिगत निर्णय गर्ने जानकारी दिनुभयो ।

वैशाखमा हुने स्थानीय चुनावमा कुन स्थानीय तह कसले लिने भन्नेबारेमा पछि नै निर्णय हुने जानकारी दिँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि नै थाहा हुन्छ । धेरै केन्द्रीय सदस्यहरूको धारणा गठबन्धनको आवश्यकता छ भन्ने नै देखिएको छ । कहाँ लिने र कहाँ छाड्ने भन्ने पछि सल्लाह होला । तर, यो बैठकले तालमेलको पक्षमा गठबन्धन बचाएर लैजानुपर्छ भन्ने नीतिगत निर्णय लिन्छ ।’

यस्तै, गठबन्धनको पक्षमा धारणा राख्दै आउनुभएका नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापाले दलका नेताहरूलाई जिताउन नभई संविधान मिच्ने शक्ति नेकपा एमालेलाई हराउन गठबन्धन गर्नुपर्ने नेताहरूले धारणा राखेको जानकारी दिनुभयो ।

पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै सभापति थापाले भन्नुभयो, ‘अहिले सुझावहरू गठबन्धन गर्नुपर्छ भन्ने नै धेरै छन् । पार्टीले गठबन्धन गरेरै जान्छ भन्ने धेरैको बुझाइ छ । बैठकको परिदृश्य त्यस्तै देखिन्छ । नीति र मापदण्डमा भने छलफल हुनुपर्ने धारणा छ, रगत पसिना बगाएर ल्याएको संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक छ ।

गठबन्धन गर्दै गर्दा स्थानीय तहको आवश्यकतालाई मध्यनजर गर्नुपर्ने हुन्छ । मतभारका आधारमा प्रमुख र उपप्रमुखको नेतृत्व गर्नुपर्छ । सबैको सुझाव त्यही छ ।’

बैठकका वक्ताहरूले गठबन्धन बनाउँदा केन्द्रबाटै छुट्याउनेभन्दा पनि स्थानीय तहलाई अधिकार दिनुपर्ने माग राखेका छन् । मतभार हेरेर नेतृत्व दिने मोडेलमा गठबन्धन गर्न सकिने अधिकांश नेताहरूको भनाइ रहेको थियो । आइतबारको बैठकमा पनि एकमहिने चुनाव केन्द्रित अभियानको क्रममा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिहरूले वस्तुगत अवस्थाबारे जानकारी गराएका थिए ।

कांग्रेसलाई गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हुन्छ : कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पाँच दलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै नेतृ कोइरालाले कांग्रेसले गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हुने तर्क गर्दै भन्नुभयो, ‘गठबन्धन गर्ने कि नगर्ने भन्नेमा व्यापक बहस छ । मेरो विचारमा गठबन्धनसँग हामी जाँदा नै राम्रो हुन्छ । हामी कमजोर भएका ठाउँमा गठबन्धनसँगै गइयो भने जित्न सजिलो हुन्छ ।

गठबन्धन बनेकोले नै पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री र राष्ट्रियसभा सदस्यहरू जितेको हो । गठबन्धन गरेरै चुनावमा जाँदा कांग्रेसलाई बेफाइदा हुँदैन ।’

आवश्यकताको आधारमा चुनावी तालमेल हुन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तअनुसार चुनावी तालमेल हुने बताउनुभएको छ । केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. महतले चुनाव जित्नका लागि कतिपय ठाउँमा गठबन्धन गरेर जानुपर्ने अधिकांश सदस्यहरूको मत रहेको जानकारी दिनुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘बैठकमा अहिलेसम्म गठबन्धनको पक्षमा धेरैको कुरा आएको छ, सबैले बोलिसकेपछि बैठकले एउटा टुंगो लगाउँछ । गठबन्धनमा जाने, नजाने भन्ने विषय पार्टीलाई के गर्दा फाइदा हुन्छ त्योभन्दा अरू मापदण्ड हुँदैन ।’ कस्तो ठाउँमा गठबन्धन गर्ने र कस्ता ठाउँमा एक्लै चुनाव लड्ने भन्नेबारे सैद्धान्तिक खाका बनाएर अघि बढिने जानकारी दिँदै डा. महतले गठबन्धन कहाँ कसरी गर्ने भन्नेबारे सोमबारसम्म पर्खन आग्रह गर्नुभयो ।

कांग्रेस बैठकमा अर्थमन्त्रीलाई बर्खास्त गर्न माग

यसैबीच, नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग भएको छ । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकाले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको हो ।

यसअघि, शुक्रबारको पहिलो बैठकमा पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल सुधारको कदम आवश्यक रहेको विषयले बैठकमा प्रवेश पाएको थियो । केन्द्रीय सदस्य प्राडा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको थियो । बैठक आज (सोमबार) पनि बस्नेछ ।