६ बैशाख २०८१, बिहीबार

लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक, सरकारमा सहभागी हुनेबारे निर्णय लिइने

losapa 1

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुने तयारीमा छ ।

सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो ।

सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए ।

प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् । त्यो प्रस्तावमा समेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती नेताको भनाइ छ ।

पार्टीबाट निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताइएको छ । अहिलेको रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छ । सरकारमा सहभागी भए यी दुइटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित छ ।

यस्तै बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित समाचार...