१९ बैशाख २०८१, बुधबार

पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो छ : अध्यक्ष नेपाल

madhav

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठन विस्तार तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै उहाँले पाटीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताउनुभएको हो ।

पार्टी संगठनप्रति मानिसहरूको आकर्षण बढीरहेको उहाँले दाबी गर्नुभयो । यसलाई सकारात्मक पक्षका रुपमा तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनलाई निर्देशन समेत दिनुभयो ।

अध्यक्ष नेपालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएर राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताउनुभयो । प्रधानन्यायाधीश राणासँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर, स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भैसकेको अध्यक्ष नेपालले दाबी गर्नुभयो । ओलीका त्यस्ता योजनाहरु आफूले थाहा पाएको उहाँको भनाइ थियो ।