८ बैशाख २०८१, शनिबार

चोनबुरीमा थाइल्यान्डसँग भिड्दै नेपाल

nepal 1

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) साँझ थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल साँझ ५:४५ बजे थाइल्यान्डको चोनबुरीमा हुनेछ ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस खेललाई नेपाली टोलीको कमजोरी पत्ता लगाउने खेलको रुपमा लिनुभएको छ । प्रशिक्षक अल्मुताइरीले एसिया कप छनोटका लागि यस खेल उपयोगी हुने विश्वास पनि लिनुभएको छ । प्रशिक्षकले थाइल्यान्डविरुद्ध अनुभवी र युवा खेलाडी सम्मिलित टोली उतार्ने तयारी गर्नुभएको छ ।

थाइल्यान्ड नेपालका लागि तुलनात्मक बलियो प्रतिद्वन्द्वी हो । फिफा वरीयतामा पनि थाइल्यान्ड माथि छ । वरीयतामा थाइल्यान्ड ११२औँ र नेपाल १६७औँ स्थानमा छ । नेपालले थाइल्यान्डसँग तीन दशकपछि फुटबल खेल्न लागेको हो । यसअघि नेपालले सन् १९८७ मा ओलम्पिक छनोट खेलेको थियो । त्यतिवेला नेपाल दुवै खेलमा ३–० र २–१ गोलले पराजित भएको थियो ।

सोमबार थाइल्यान्ड गएको नेपाली टोलीले त्यहाँ दुई दिन प्रशिक्षण गरेको थियो । नेपालले चैत १३ गते थाइल्यान्डको शीर्ष क्लब चोनबुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपाल अहिले अभ्यासमा ब्यस्त छ । त्यसैको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो । समूह चरणको खेल भने ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

नेपाली टोली

किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ र सुवास गुरुङ ।

    सम्बन्धित समाचार...