७ बैशाख २०८१, शुक्रबार

न्यून भन्सार मूल्याङ्कन गरिएका सामान बरामद

bhansar

पूर्वको मेची भन्सार नाका तथा आसपासका क्षेत्रबाट चोरी तस्करी गरिएका तथा न्यून भन्सार मूल्याङ्कन गरी कम राजस्व तिरेर भित्र्याइएका सामान बरामद हुने क्रम बढेको छ ।

मेची भन्सार नाकाबाट भित्रिएका दुईवटा ट्रक गत सोमबार अपराह्न राजस्व अनुसन्धान प्रादेशिक कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएपछि यस्तो अवस्था देखिएको हो ।

टोलीले नियन्त्रणमा लिएर कार्यालय परिसरमा राखेको ना. ७ ख ५८३ र प्र १ ०२ ०० १ ख ९५२७ नम्बरका ट्रकमा करिब तीन करोड रुपियाँ बराबरको जुत्ता चप्पल रहेको बताइएको छ ।

राजस्व अनुसन्धान कार्यालयका अधिकृत शिव निरौलाका अनुसार ती ट्रकमा रहेका सामानको मेची भन्सार कार्यालयले अत्यन्तै कम मूल्याङ्कन गरेर न्यून राजस्व लिएर छोडेको पाइएको छ ।

अधिकृत निरौलाले नियन्त्रणमा लिइएका ट्रक अहिलेसम्म सिलबन्दी रहेकाले त्यहाँ के कति मूल्यको कति परिमाण सामान छ बताउन नसकिने जानकारी दिनुभयो ।

यसअघि प्रहरीले एउटा भ्यानमा भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरेको थियो । मेचीनगर नगरपालिका–१, बौद्धमोड नजिकैबाट नौ लाख ७० हजार रुपियाँको लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काँकडभिट्टालगायत विभिन्न नाकाबाट केही व्यापारी तथा कर्मचारीसमेतको मिलेमतोमा कम मूल्याङ्कन गरी सामान नेपाल भित्रिने क्रम बढेसँगै राजस्व अनुसन्धानको गस्ती टोलीले सक्रियता बढाएको अधिकृत निरौलाले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो केही महिनायता प्रदेश १ को मुख्य नाकाका रूपमा रहेको काँकडभिट्टाबाट सबैभन्दा धेरै सामान पूर्वी नेपाल आउने गरेको छ ।

यसरी भन्सार नाकाबाट कम मूल्याङ्कन गरी कर्मचारीको सेटिङमा राजस्व छलेको घटनासहित राजस्व चुहावटका समग्र गतिविधिमा गत साउन १ गतेदेखि फागुन मसान्तसम्म ३८४ वटा सूचना प्राप्त भएको पनि राजस्व कार्यालयले जनाएको छ ।   

पूर्वी नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टीतेल, तयारी पोसाक, सुपारी, हवाई स्प्रिड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङलगायतका सामग्री आयात हुने गरेको छ ।

नेपाल राष्ट्र बैङ्कको पछिल्लो निर्देशनबमोजिम दैनिक उपभोग्य तथा नेपाली बजारमा प्रभाव पर्ने चिनी तथा मिठाईजन्य वस्तु, ग्लुकोज, मिनरल वाटर, इनर्जी ड्रिङ्क, ककटेल ड्रिङ्स, मेकअपका सामान, स्याम्पु, कपालमा लगाउने तेल तथा कलर, टोपी, जुत्ता, छातालगायत वस्तु आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ ।

“भन्सार कार्यालय तथा कर्मचारीसँगको मिलेमतोबाहेक निर्यात र आयातको क्रममा हुने कुनै पनि तस्करी सम्भव छैन,” दमकका सामाजिक अभियन्ता तथा व्यवसायी सन्दीप चापागाईंले भन्नुभयो ।