७ बैशाख २०८१, शुक्रबार

अब जनयुद्ध हुनेछैन :मन्त्री भुसाल

pampha

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान, राष्ट्रियता र सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गरी सरकार सञ्चालन गरिएको बताउनुभएको छ ।

काभ्रेको बनेपामा बुधबार आयोजित वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री भुसालले संविधान मिच्दै प्रतिनिधि सभा विघटन गरी संविधान निष्क्रिय पार्ने, देशलाई प्रतिगमनतर्फ लैजाने योजना अघि बढाएपछि त्यसलाई रोक्न गठबन्धन बनाएको बताउनुभयो । उहाँले हाल बनेको पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि सँगै लैजानुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा माओका सिद्धान्तलाई नेपाली परिवेशमा अघि बढाई जनताको आन्दोलनका रूपमा दस वर्षीय जनयुद्ध सञ्चालन भएको बताउँदै अब त्यस्तो जनयुद्ध सञ्चालन नहुने बताउनुुभयो । वर्ग रहेसम्म वर्ग सङ्घर्ष होला, विद्रोह, क्रान्ति होला तर हिजोको जस्तो जनयुद्ध भने हुने छैन, उहाँले थप्नुभयो ।

नेपालमा कतिपय व्यक्तिलाई राजतन्त्र हट्छ, निरङ्कुशता जान्छ भन्ने विश्वाससमेत नभएको अवस्थामा यी सबै काम सफल भएको बताउँदै मन्त्री भुसालले सरकारले सबै नागरिकको घरमा विद्युत् पु-याउने लक्ष्य अघि सारेको बताउनुभयो ।

उहाँले आफूले मन्त्री पद सम्हालेपछि जनतालाई सस्तो मूल्यमा विद्युत् उपलब्ध गराउन महसुल घटाउनुको साथै विपन्न परिवारको घरायसी प्रयोजनका लागि प्रयोग गर्ने न्यूनतम २० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

मन्त्री भुसालले करिब ५० लाख घरधुरीमा विद्युत् सेवा जोडिएको बताउँदै त्यसमध्ये २६ लाख ५० हजार घरधुरीले सरकारले उपलब्ध गराएको निःशुल्क विद्युत् उपयोग गरेको बताउनुभयो ।

उहाँले देशको असन्तुलित व्यापार घाटा कम गर्न तथा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ प्रयोजनमा प्रयोग हुने विद्युत्मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री भुुसालले करिब सात सय मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त विद्युत्, ११० मेगावाटको कोखाजोर विद्युत् आयोजनाको काम विद्युत् विकास समितिमार्फत अध्ययन भइरहेकाले यी विद्युत् आयोजनामा काभ्रे तथा आयोजना आसपासका नागरिकलाई सेयर दिने व्यवस्था मिलाइने बताउनुभयो ।