७ असार २०८२, शनिबार

कुन प्रदेशको अवस्था कस्तो छ एमाले ? प्रदेशका अध्यक्षहरूको रिपोर्टिङको आधारमा

uml 1

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठकको पहिलो दिन प्रदेशहरुमा पार्टीको वर्तमान अवस्थाबारे प्रदेश प्रमुखहरुले रिपोर्टिङ गरेका छन् ।

बैठकमा प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा,लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपशिचमका दामोदर भण्डारीले रिपोर्टिङ गर्नुभयो । त्यसक्रममा उहाँहरुले पार्टीको विभाजनको असर नपरेको दाबी गर्नुभयो ।

सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङमा शक्ति सन्तुलनका आधारमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा एमाले बलियो र कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस रुपमा आउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भ्स्यो ।

कुन प्रदेशको अवस्था कस्तो ?

प्रदेश १ का एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्टिङ गर्नुभएको थियो । उहाँले पार्टी विभाजनपछि बनेको एकीकृत समाजवादीको असर न्यून रहेको दाबी गर्नुभयो ।

मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गर्नुभएको थियो । तर मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस रुपमा भने आउन नसकेको गुरुङले बताउनु भयो । मधेश प्रदेशमा पार्टी प्रवेशको लहर चलेको र पहिलाको भन्दा अवस्थामा सुधार आउँदै गएको उहाँको दाबी थियो ।

बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै स्थानीय तहको चुनावमा ८० सिट जित्ने दाबी गर्नुभयो । उहाँले एमालेले स्थानीय तहमा एक्लै प्रतिष्पर्धा गरे उक्त सिट जित्ने दाबी गर्नुभयो ।

११९ स्थानीय तहमध्ये एक्लै प्रतिष्पर्धा भए ८० स्थानमा जित्ने उहाँले दाबी प्रस्तुत गर्नुभयो । गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बैठकमा गरेको रिपोर्टिङ अनुसार पार्टी विभाजनका बावजुद गत स्थानीय तहको चुनावमाभन्दा सिट संख्या बढ्ने छ । एमाले यसअघि ३९ स्थानीय तहमा जित निकालेकोमा अब त्यसमा केही थपिने उनको दाबी छ । सत्ता गठबन्धन कायम रहेका भने १२ सिट गुम्न सक्ने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले ६५ स्थानीय तहमा जित निकाल्न सकिने दाबी गर्नुभयो । तर अरु दलले गठबन्धन गरेको खण्डमा भने ४१ सिटमा खुम्चिने सम्भावना उहाँले सुनाउनु भएको थियो । लुम्बिनीमा १०९ स्थानीय तह रहेको छ ।

कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले विगको तुलनामा एमालेले सीट संख्या बढाउने दाबी गर्नुभयो । बैठकमा रिपोर्टिङ गर्दै उहाँको ७९ पालिकामध्ये २९ वटा पालिका जित्ने उहाको दाबी छ । गत स्थानीय चुनावमा एमाले २७ पालिका जितेको थियो । सत्ता गठबन्धन बनेमा १५ वटामात्रै जित्ने स्थितिमा रहेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताउनु भयो ।

उहाँले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने रिपोर्टिङ गर्नुभएको थियो । ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उहाको भनाइ थियो । गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने उहाँको आँकडा छ । १९ वटा पालिकामा भने आफूहरुको अवस्था कमजोर रहेको रिपोर्टिङका क्रममा उहाँले बताउनु भयो ।