७ बैशाख २०८१, शुक्रबार

यी हुन् विश्वकै १५ प्रदूषित शहर, नेपाल कुन सूचीमा ?

kath

केन्द्रीय राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरको सूचीभित्र परेको छ।

आज बिहान पौने दश बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्वीस कम्पनी आईक्यू एअरका अनुसार हिजो काठमाडौंको एयर क्वालिटी छैटौं प्रदूषित शहरमा परेको थियो ।

स्वीट्जरल्याण्ड मुख्यालय रहेको आईक्यू एअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर अस्वस्थकर स्तरमा छ । पोलुनस डट जीओभी डट एनपीका अनुसार आज कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ ।

त्यस्तै पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षेत्रको वायु पनि प्रदूषित अवस्थामा पुगेको छ । आईक्यू एअरको हिजोको प्रतिवेदन अनुसार देशका हिसाबले नेपाल प्रदूषित देशको दशौं स्थानमा छ ।

छिमेकी देश भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनेको छ। दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहरको सूचीमा परेको हो । विश्वका एक सय प्रदूषित शहरमध्ये ६३ वटा भारतका रहेको प्रतिवेदनमा छ।

उता देशका हिसाबले बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित छ। प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो तथा भारत पाँचौं स्थानमा छन् । सार्वजनिक तथ्यांकअनुसार विश्वका कुनै पनि देशले गत वर्ष प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् ।

सर्वेक्षण गरिएका शहरमध्ये केवल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गर्न सफल भएको जनाइएको छ । कम्तिमा ९३ शहरको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन, डब्लूएचओले सुझाव दिएको भन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ।