१६ चैत्र २०८०, शुक्रबार

जनताकाे भावना नबुझ्दा एमाले सरकार बाहिरिनु पर्‍याे : मन्त्री बढू

Dilendra Prasad Badu
फाइल फोटो

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमाले सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताउनुभयो ।

देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताउनुभयो ।

मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभयो । संविधानको ब्यबस्था र मर्म विपरित जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री बडुले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री बडूले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताउनु भयो । रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताउनुभयो।

२०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुलेसरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताउनु भयो ।