१३ बैशाख २०८१, बिहीबार

के पूरा भए ति निर्वाचनमा बाँडिएका सपना ?

election

स्थानीय पालिकाको निर्वाचन आउन डेढ महिना जति बाँकी छ । विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवार जिताउन अघिल्लो निर्वाचनमा निकै ठूला सपना बाँडे । के ति सपना पूरा हुन सक्यो त ? हामीले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले गरेका बाचालाई एक पटक सम्झिने प्रयास।

देशकै सबैभन्दा सम्पन्न महानगरपालिका हो, काठमाडौं महानगरपालिका । यो आर्थिक वर्षमा मात्र काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट प्रस्ताव गर्‍यो । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ को बजेट ल्याएको थियो ।

यति ठूलो बजेट विनियोजन गर्न सक्ने संघीय राजधानीसमेत रहेको यो महानगरपालिकाले कति काम गर्न सक्यो त ? त्यसअघि १ सय १ कार्यक्रम घोषणा गरेर २०७४ सालमा निर्वाचित बनेका काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित बनेका विद्यासुन्दर शाक्यका प्रतिवद्धता कति पूरा भयो ?

मेयर शाक्यका प्रतिवद्धता
–काठमाडौंलाई साइकल सिटी बनाउने
–चोभारमा प्रदर्शनी हल बनाउने
–मेयर फुड पार्लर स्थापना गर्ने
–स्मार्ट भर्टिकल कार पार्किङ
–क्लिन द सीटी अभियान चलाउने
–मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने
–स्मार्ट सीटीको अवधारणामा अघि बढ्ने

यी केही उदाहरण मात्र हुन् । यसमध्येका कुनै काम पनि हुन सकेनन् । यो हेर्दा तपाईलाई हाँसो उठ्न सक्छ । आफ्नै प्रतिवद्धतामा एक पाइला सार्न नसकेका शाक्यले उल्टै धेरै काम गरेको दाबी गर्दै आउनुभएको छ ।

कुरा काठमाडौं महानगरको मात्र होइन, ललितपुर महानगरपालिकाको पनि अवस्था उस्तै छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि आश्वसन दिँदै हिड्नुभयो । उहाँले महानगरपालिकाको पहिलो बैठकमै कुपण्डोल देखि पुल्चोकसम्म फ्लाई ओभर बनाउने काम सुरु गर्ने र पाँच वर्षभित्रै बनाइ छाड्ने प्रतिवद्धता जनाउनु भएको थियो । यसबाहेक पनि चक्रपथमा मोनो रेल कुदाउने प्रतिवद्धता जनाउनु भएका महर्जनले कुनै पनि काम गर्नु भएन् ।

यसबाहेक पनि उहाँले ललितपुरमा यत्रतत्र रहेका केबल र टेलिफोनका तार भूमिगत बनाएर शहरलाई सुन्दर बनाउने बताउनु भएको थियो भने साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।

महर्जनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धताको सूची लामै छ । उहाँले प्रतिवद्धता गरेकामध्ये थोरै मात्रै प्रतिवद्धता पुरा भएका छन् । दूर दराजका गाउँपालिकाहरुले नागरिकका आवश्यकता मनन गर्दा अर्बौको बजेट विनियोजन गर्ने महानगरपालिकाहरु काममा होइन, कुरामै धेरै केन्द्रित बने ।