७ बैशाख २०८१, शुक्रबार

प्रतिगमनको खतरा टरेको छैन : अध्यक्ष प्रचण्ड

prachanda janakapur

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा अझै नटरेको बताउनुभएको छ। जनकपुरधाममा मंगलबार पार्टी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो।

नेकपा एमालेले संसद चल्न नदिएको विषय प्रतिगमनको एक कडी भएको भन्दै उहाँले प्रतिगमनको खतरा अझै नटरेको बताउनुभएको हो। प्रतिगमन विरुद्धको लडाइँका लागि जुनसुकै समयमा तयार भएर बस्नका लागि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। ‘हामीले विगतमा प्रतिगमनबाट देशलाई जोगायौं तर अझै पनि खतरा टरेको छैन। त्यसैले प्रतिगमन विरुद्धको लडाइँका लागि तयार भएर बस्नुस्’, प्रचण्डले भन्नुभयो।

उहाँले पछिल्लो समयमा भएको प्रतिगमनको विरुद्धमा मधेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै समाजवादी क्रान्तिका लागि पनि नेतृत्व लिन मधेस तयार हुनुपर्ने धारणा राख्नुभयो। उहाँले स्थानीय तहको निर्वाचन अन्य पार्टीका लागि जितहारको विषय मात्रै भए पनि नेकपा (मओवादी केन्द्र)का लागि एउटा ठूलै लडाइँ भएकोले तयारीमा जुट्नका लागि आग्रह गर्नुभयो।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलको बीचमा सहकार्य भएमा राम्रो परिणाम आउने भएकोले आफूले गठबन्धनको आवश्यकतामा जोड दिएको बताउनुभयो ।

उहाँले वर्तमान गठबन्धनको सरकार संविधान, लोकतन्त्र तथा अहिलेको उपलब्धिको रक्षाका लागि नै भएकाले चुनावमा गठबन्धनको पक्षमा आफू भए पनि गठबन्धन नबनेको खण्डमा नेकपा (माओवादी केन्द्र) एक्लै चुनावमा जाने किसिमले तयारीमा जुटनका लागि नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो।

कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नीतिगत रुपमा गठबन्धन कायम गर्ने हाम्रो उदेश्य भए पनि त्यो नभएको खण्डमा आफ्नै बलबुतामा स्थानीय तहको चुनाव जित्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो।

उहाँले पार्टी भित्रका मतभेदलाई स्थानीय तहका चुनावसम्मका लागि थाँती राखेर एकताबद्ध भएर चुनावमा जाने र समाजवादको आधार तयार गर्ने लक्ष्यसहित अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल, विश्वनाथ साह, मातृका यादव उपस्थित हुनुहुन्थ्यो।