७ बैशाख २०८१, शुक्रबार

भोट आउँछ भन्ने सुनिश्चितता नभएसम्म गठबन्धन गर्नुको अर्थ छैन : नेता कोइराला

sekhar koirala

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसलाई भोट आउँछ भन्ने सुनिश्चितता नभएसम्म गठबन्धन गर्नुको अर्थ नरहने बताउनुभएको छ ।

विराटनगर स्थित कोइराला निवासमा नेपाल सांस्कृतिक सङ्घद्वारा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका लागी तयार गरिएको चुनावी गीतको आज सार्वजनिक गर्नुहुँदै उहाँले विगतको निर्वाचनमा काँग्रेसले गठबन्धन गर्दा गठबन्धन गर्ने दलहरूबाट काँग्रेसलाई भोट नपाएकाले त्यसतर्फ नेतृत्व तहले सोच्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले आफु गठबन्धनको विरोधी होइन भन्नुहुँदै तर गठबन्धन केका लागी गरिने हो किन गरिने हो त्यस विषयमा कांग्रेस प्रष्ट हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले सबै स्थानीय तहका जित्ने गरी पार्टीको एजेन्डा लिएर घरघर जान काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

स्थानीय निर्वाचनमा कांग्रेस एकताबद्ध भएर लाग्ने बताउँदै नेता कोइरालाले काँग्रेसले चुनाव जित्ने धेरै आधार काँग्रेससँग रहेकाले त्यो आधारलाई जनता सामु लैजानुपर्ने बताउनुभयो ।

मुलुकको आर्थिक अवस्था जर्जर छ खाद्यान्न लगायत सबै वस्तुहरूको मूल्य आकासिएको छ यस्तो अवस्थामा हामी निर्वाचनका लागी जनता सामु जादैछौ, मुलुकको अवस्था र मूल्य वृद्धि हुनुको कारणबारे जनतालाई बुझाउनु जरुरी रहेको उहाँको भनाई थियो । उहाँले एमसिसी देशको हितमा रहेकाले यो परियोजनाबाट हुनेका कामलाई जतिसक्दो चाँडो अघि बढाउनुपर्ने बताउनुभयो ।